डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घट्यो

वैशाख १९, २०८१ | काठमाडौं

नेपाल आयल निगमले आजबाट लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । 

इन्डियन आयल कर्पोरेसनबाट हिजो प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको प्रतिलिटर २ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ ४५ पैसा घटेर आएको थियो ।

पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा डिजेल/मट्टितेलको भाउ प्रतिलिटर एक सय ५९ रुपैयाँ तथा सुर्खेत र दाङमा प्रतिलिटर एक सय ५८ रुपैयाँ तोकिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगडी र वीरगञ्जमा डिजेल÷मट्टितेलको भाउ प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा कायम भएको छ । 

निगमले हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७ अमेरिकी डलरले वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरको दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ ।


प्रतिक्रिया