भारतमा आजबाट लोकसभा चुनाव सुरु

वैशाख ७, २०८१ | काठमाडौं

विश्वको सबैभन्दा बढी जनसंख्या भएको छिमेकी भारतमा आजदेखि लोकसभा चुनाव सुरु भएको छ । भारतीय संसदको तल्लो सदन लोकसभाको ५ सय ४३ सिटका लागि झन्डै ९७ करोड मतदाताले भोट गर्दैछन् । सात चरणमा हुने भारतको निर्वाचनमा भारतीय जनता पार्टी भाजपा र भारतीय राष्ट्रिय कंग्रेसले गठबन्धन बनाएर प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो चरणमा २१ राज्यका १ सय २ सिटका लागि आज मतदान हुने छ । भारतीय जनतापार्टी भाजपा पछिल्लो १ दशक देखि लगातार सत्तामा छ । प्रधामन्त्री नरेन्द्र मोदी महत्वकांक्षी चुनावी घोषणापत्र सहित २ तिहाईको लक्ष्य लिएर चुनावी मैदानमा हुनुहुन्छ ।

भाजपाले चुनावी घोषणापत्रमा ५ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचारको ग्यारेन्टीलाई निरन्तरता, औषधिमा ८० प्रतिशतसम्म छुट दिने उल्लेख गरेको छ । विश्व शक्ति बन्न लागेको सन्देश दिन सन् २०३६ मा ओलम्पिक खेलकुद आयोजना गर्ने विषयलाई भाजपाले मुख्य मुद्दा बनाएको छ ।

यता, विपक्षी भारतीय कंग्रेसले भाजपामाथि बेरोजगारी र महँगाइ बढाएको तथा समाजलाई विभाजित गरेको आरोप लगाएको छ । लगातार तेस्रो कार्यकाल जितेको खण्डमा भाजपाले लोकतन्त्रलाई नै संकटमा पु¥याउने उसको आरोप छ । चुनावको अन्तिम मतपरिणाम भने आगामी जुन ४ मा आउने भारतीय समाचार माध्यमले उल्लेख गरेका छन् । 


प्रतिक्रिया