नेपाली राष्ट्रिय फुटबल टोली इंग्ल्यान्ड प्रस्थान गर्दै

वैशाख १८, २०८१ | काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोली इंग्ल्यान्डको ‘सी’ टिमसँगको मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछ । 

इंग्ल्यान्डको पाँचौँ वरियताको एल्डरल्ट फुटबल क्लबसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज राति २ बजे त्यसतर्फ प्रस्थान गर्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

नेपाली राष्ट्रिय टोली पहिलो पटक बेलायती भूमिमा गएर खेल्न लागेको हो । नेपालले इंग्ल्यान्डको ‘सी’ टोलीसँग मे ६ अर्थात आगामी सोमबार अल्डरसटमा मैत्रीपूर्ण म्याच खेल्ने कार्यक्रम छ । 

त्यसअघि आगामी शुक्रबार ब्रिटिस आर्मी च्याम्पियन टोलीसँग खेल्नेछ । इंग्ल्यान्ड जान लागेको नेपाली फुटबल टोलीलाई एन्फाले हिजो बिदाइ गरेको थियो । प्रमुख रक्षक अनन्त तामाङ भने चोटका कारण लन्डन जाने छैनन् ।

किरण चेम्जोङको कप्तानीमा रहेको टोलीमा अभिषेक बराल, विशाल सुनार, छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द छन् । 

यस्तै, फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनीष डाँगी, लाकेन लिम्बू, दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ र सन्जीव विष्ट पनि टोलीमा रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा भिन्सेन्जो अल्बर्टो एनिस, प्रशिक्षक प्रवेश कटुवाल लगायत पनि लन्डन जानेछन् ।


प्रतिक्रिया