नेपालले वेस्ट इन्डिज ’ए’सँग चौंथो टी-२० क्रिकेट खेल्दै

वैशाख २०, २०८१ | काठमाडौं

लगातार दुई खेलमा पराजित भएको नेपालले आज वेस्ट इन्डिज ’ए’ टिमसँग चौंथो टी–२० क्रिकेट खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्याह्न सवा १२ सुरु हुनेछ । 

वेस्ट इन्डिज ’ए’ टिमले पछिल्लो जितसँगै ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित हात पारेको थियो । 

रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज टोलीले नेपाललाई दोस्रो खेलमा १० र हिजो भएको तेस्रो खेलमा ७६ रनले हराएको थियो । 

लगातार दुई खेलमा हार व्यहोरेको घरेलु टोली आज पुनरागमनको लक्ष्यमा छ । वेस्ट इन्डिज ’ए’ भने एक खेल अगावै सिरिज जित्ने योजनामा छ । 

नेपालले हिजो रोहित पौडेलको कप्तानीमा आसन्न टी–२० विश्वकप खेल्ने टिम घोषणा गरिसकेको छ । त्यसैले अबको दुई खेललाई नेपालले विश्वकपको तयारीका रुपमा लिएको छ । 

नेपाली टोलीमा कप्तान पौडेल सहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी छन् । 

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’सँगको बाँकी दुई खेलमा भने पहिलो रोजाइकै खेलाडी उतार्ने रणनीति बनाएका छन् । त्यसैले बलियो टोली वेस्ट इन्डिज ’ए’विरुद्ध उत्रनेछ । 

घरेलु टोलीमा रोहित बाहेक अन्य ब्याटरले अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । यद्यपि, विश्वकप अघि माथिल्लो क्रमका ब्याटरको प्रदर्शनमा सुधारको अपेक्षा गरिएको छ । 


प्रतिक्रिया