लमजुङ डायरी

वैशाख १७, २०७५ | लमजुङ

बौद्धमार्गी तथा बौद्ध धर्मावलम्बीले २५६२ औं बुद्धजयन्तीको दिन आज लमजुङको बेंसीसहरमा बृहत र्‍याली निकालेका छन् । नेपाली झण्डा, बौद्ध धर्मावलम्बीको झण्डा, ब्यानर, प्लेकार्ड लिएर उनीहरुले बेंसीसहर बजार परिक्रमा गरे । अग्रपंक्तिमा लामा गुरुहरु राखेर निकालिएको र्‍याली बेंसीसहरको मनाङेचौतारा देखि पुरानो बैंक चोक, नारायणस्थान चोक, शेरा चोक हुँदै शेराकुनाबाट शान्ति टोलको सामुदायिक भवनसम्म पुगेको थियो ।

गुरुङ, तामाङ, मगर, ह्योल्मो जातिले आफ्नो मोलिक पोषकसहित बाजागाजा बजाएर र्‍यालीमा सहभागिता जनाए । उनीहरुले सरकारले हालै कटौती गरेको सार्वजनिक बिदा पाउनुपर्ने माग सहितका प्लेकार्ड लिएका थिए । बुद्ध जयन्तीको अवसरमा गाउँगाउँमा घाँटु नाचिएको छ । बिहानै बेंसीसहर, भोटेओडार, सुन्दरबजार, खुदी लगायत सहरबजार तथा ग्रामीण भेगमा रहेका गुम्बामा पूजापाठ गरिएको छ । बौद्धमार्गी तथा बौद्ध धर्मावलम्बीले शान्ति र अमनचयनको कामना गर्दै पूजापाठ गरेका छन् । 

राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत लमजुङमा पर्ने चेपेनदी–पाउँदी खण्डको सडकमा कालोपत्रे गर्ने तयारी थालिएको छ । लमजुङ तर्फको साडे ९ किलोमिटर र गोरखामा पर्ने चेपेनदी–ठाँटी पोखरीको साँढे ६ किलोमीटर सडक पिच गर्न सडक ग्राभेल गरेर बेस हाल्न थालिएको छ । घटीमा ७ मिटर चौडाई र बढीमा घुम्तीतिर ८ मिटर हुने गरी ग्राभेल गर्नको लागि बेस बनाउन थालिएको छ । ग्राभेल अघिअघि, त्यसपछि बेस हाल्ने र पिच गर्ने लाने योजना रहेको सडक विभाग अन्तर्गत पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना (पश्चिम खण्ड) को लमजुङ क्षेत्रका इन्जिनियर सन्तोष थापाले बताउनुभयो । बेस बस्न थालेपछि एकसाताभित्रै पिच गरिने उहाँले बताउनुभयो । लमजुङमा ३ बर्षयता उक्त आयोजना संचालन भइरहेको छ । पाउँदीदेखि गोरखाको ठाँटी पोखरीसम्मको १६ किलोमिटरको सडकको लागि ठेकेदारसंग ३५ करोड रुपैयाँमा सम्झौता भएको छ । 

मर्स्याङदी गाउँपालिकाको ९ वडामध्ये ५ वटा वडाका केही स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरेर घरटहरा निर्माण गरेको पाइएको छ । गाउँपालिकाले सार्वजनिक जग्गाको अवस्था र निजी रुपमा भइरहेको उपभोगबारे अध्ययन गरिररहेको छ । सार्वजनिक जग्गामा भइरहेको अतिक्रमणबारे गठित कार्यदलका अनुसार १ सय २० बढी घरहरु सार्वजनिक जग्गा मिचेर बनाइएको फेला परेको छ । गाउँपालिका उपाध्यक्ष एवं कार्यदलका संयोजक होमबहादुर विकले वडा नं. ३ को खुदीबजारमा २६ घर, ४ को रामबजार, स्याँगे, शीरचौर, च्याम्चे लगायत ठाउँमा गरी ३२ घर, ६ को दोभानचौरमा ३२ घर र वडा नं. ७ मा २ घर सार्वजनिक जग्गा मिचेर बनाएको पाइएको बताउनुभयो । उहाँका अनुसार वडा नं. १ को नायुमा अध्ययन गर्न बाँकी छ । उहाँले उक्त गाउँमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ३० घर बढी बनाइएको अनुमान गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार सार्वजनिक ठाउँमा बसेकालाई लिज सम्झौताको माध्ययमबाट व्यवस्थापन गरिने छ । सार्वजनिक ठाउँमा बसेका तर, जग्गाजमीन केही नभएकालाई भने नि:शुल्क व्यवस्थापन गरिने र उनीहरुलाई जग्गाधनी पूर्जाको पहल गरिने उहाँले बताउनुभयो । 

लमजुङको सुन्दरबजार नगरपालिका ११, तुर्लुङकोटस्थित देवीसदन प्राविमा दुरा भाषमा पढाई थालिएको छ । नयाँ शैक्षिक सत्रसंगै कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दुरा भाषा पढाउन थालिएको विद्यालयले जनाएको छ । दुरा भाषाका विभिन्न सन्दर्भ सामग्री पढाउन थालिएको विद्यालयका प्रधानाध्यापक बुद्धराम दर्जीले बताउनुभयो । दुरा समुदायका अगुवा यमबहादुर दुराका अनुसार गत बैशाख २ गतेबाट दुरा भाषाको पठनपाठन सुरु भएको हो । यसअघि देवीसदन प्रावि ठुलोस्वाँरा र अहिले पढाई थालिएकै देवीसदन प्राविमा २०७२ तिर पढाई थालिएपनि यसले निरन्तरता पाउन नसकेको उहाँले बताउनुभयो । दुरा सेवा समाजका संस्थापक अध्यक्ष भक्तबहादुर दुराको अग्रसरतामा दुरा भाषाको पढाइ थालिएको विद्यालयले जनाएको छ । उहाँकी पत्नि गंगामाया दुराले देवीसदन प्राविमा अध्ययनरत ३५ जना विद्यार्थीलाई  कपी, कलम र दुरा भाषाका सन्दर्भ सामग्री वितरण गरेर दुरा भाषाको कक्षाको सुरुवात गराउनुभएको थियो । शिक्षकलाई मासिक २ हजार, सुपरीवेक्षकलाई १ हजार र सहजकर्तालाई ५ सय रुपैयाँ मासिक पारिश्रमिक तोकिएको छ । यस प्रयोजनका लागि भक्तबहादुर दुराले ४२ हजार रुपैयाँ एकमुष्ठ प्रदान गर्नुभएको छ । 


प्रतिक्रिया