लमजुङ डायरी

मंसिर २२, २०७५ | लमजुङ

लमजुङको दूधपोखरी गाउँपालिका ३, फुलिङगिरी माडीका स्थानीयबासिन्दा आलोपालो घर निर्माणमा जुटेका छन् । २०७२ को भूकम्पबाट घर ध्वस्त भएपछि करीब साँढे २ वर्षपछि किस्ता पाएका उनीहरु अहिले धमाधम घर निर्माणमा जुटेका छन् ।

उनीहरुले एउटाको घर नसकुञ्जेल निर्माण गरिरहने र सकिएपछि अर्कोको घर निर्माण गरिरहेका छन् । घर निर्माण गर्दा उनीहरुले कसैको पनि ज्याला लिएका छैनन् । स्थानीय राम तामाङले १२ जनाको समूहबाट आफ्नो घर निर्माण गरिरहेको बताए । आफ्नो घर बनाइसकिएका सुनार तामाङले अहिले राम तामाङको घर बनाउन जुटेको बताए । एक वर्षयता उनीहरु सामूहिक रुपमा भूकम्प पीडितका घर बनाउन जुटेको उनले बताए । सबैभन्दा पहिले भगिलाल तामाङको घर बनाएका टोलीले एउटा घर बनाउन करीब १ महिना लाग्ने बताएको छ । ज्याला दिनु नपरेकाले उनीहरुलाई कम्तीमा २ लाख रुपैयाँ खर्च जोगिएको उनीहरुले बताएका छन् । फुलिङगिरी माडी क्षेत्रमा ४ समूहले सामूहिक रुपमा भूकम्प पीडितका घर बनाउँदै आएको स्थानीयले बताएका छन् । एउटा समूहमा कम्तीमा १० जना छन् । दूधपोखरी गाउँपालिका ३ का वडा सदस्य एवं स्थानीय औतराम लामाका अनुसार १ सय बढी घर रहेको फुलिङगिरी माडीका ७० घर बढी घर पुन:निर्माण गर्नुपर्ने छ । यी सबैले पहिलो किस्ताबापतको रकम बुझेका छन् । ४/५ घरले गुनासो फारम भरेका छन् । केही घरको आर्थिक अवस्था ज्यादै नाजुक रहेको र केही घरको पारिवारिक अवस्थाका कारण सुरु हुन सकेको छैन । साविक इलमपोखरी गाविस १ र २ नं. वडामा पर्ने उक्त गाउँका बासिन्दा टोलटोलकाहरु समूहगत रुपमा घर बनाउने काममा खटिएको वडाअध्यक्ष तिलकबहादुर गुरुङले बताउनुभयो । घर बनाउन बाँकी लाभग्राही काठ, ढुंगा, बालुवा, रड, सिमेन्ट लगायत आवश्यक सामग्री जुटाउन व्यस्त छन् ।

जिल्लाको पूर्वी भेग दोर्दी गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स संचालनमा आएको छ । दोर्दीखोलामा निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले प्रभावित स्थानीयलाई एम्बुलेन्स प्रदान गरेको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विनियोजित रकमबाट प्रभावितलाई एम्बुलेन्स सहयोग गरेको आयोजनाले जनाएको छ । आयोजना निर्माण अवधिका लागि विनियोजित २ करोड ५० लाख रुपैयाँ मध्येबाट सरोकार समितिले एम्बुलेन्स खरिद गरेको माथिल्लो दोर्दी ‘ए’ सरोकार तथा समन्वय समितिका अध्यक्ष चीनबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारको राजस्व छुटबाट १० लाख १२ हजार ४ सय रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको हो । राजस्व छुट नहुँदा उक्त एम्बुलेन्सको मुल्य ४२ लाख ५० हजार रुपैयाँ पर्ने उहाँले बताउनुभयो । उक्त एम्बुलेन्स कीर्तिपुर स्वास्थ्य चौकीमा राखिएको छ । माथिल्लो दोर्दी ‘ए’ आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनी लिमिटेडका संचालक राजेन्द्र वस्तीका अनुसार एम्बुलेन्स अभावमा बिरामी ज्यान समेत जाने गरेको र कामदार लगायत घाइतेलाई हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता थियो । एम्बुलेन्स संचालनपछि बिरामीलाई बेंसीसहर, पोखरा, चितवन, काठमाडौं लान सजिलो भएको स्थानीयले बताएका छन् । दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले एम्बुलेन्स संचालनपछि सिंगो गाउँपालिकाका बासिन्दालाई सहज भएको बताउनुभयो । 

जिल्लामा एचआइभी संक्रमतिको संख्या बढ्दै गएको एक तथ्यांकले देखाएको छ । विशेष गरी वैदेशिक रोजगारीमा भारत गएर फर्केकामा एचआइभी संक्रमण बढी देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको कार्तिकसम्ममा २ सय २ जना एचआइभी संक्रमित पुगेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । पुरुष १ सय १८ र महिला ८३ जना छन् । संक्रमितमा युवा उमेरका बढी छन् । आर्थिक वर्ष २०७४/०७५ सम्ममा संक्रमित हुने २ सय १ जना थियो । पहिलो चौमासिकमा थप एकजना एचआइभी संक्रमित फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाइँले बताउनुभयो । आर्थिक वर्ष २०७२/०७३ मा संक्रमितको सख्या १ सय ८७ जना थियो । आर्थिक वर्ष २०७३/०७४ मा ९ जना थपिएर १ सय ९६ पुगेको थियो । अहिले संक्रमित मध्य ९२ जनाले एआरटी सेवा तथा औषधी सेवन गरिरहेका छन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालका एचआईभी परामर्शदाता गणेश गुरुङका अनुसार ४१ जना  महिला, ३९ पुरुष, ७ बालिका र ५ बालक गरी ९२ जनाले अस्पतालबाट नियमित औषधी सेवन गरिरहेका छन् । तथ्यांकमा २ सय २ जना देखिएपनि संक्रमितको संख्या अझ धेरै हुनसक्ने स्वास्थ्य प्रमुख चापागाइँले बताउनुभयो । उहाँका अनुसार चिनाजानेकाले थाह पाउने डर, लाज लगायतका कारण शंका लागेकाले जिल्लाभित्रैका स्वास्थ्य संस्थामा परीक्षण गरेका छैनन् । 

विकास निर्माणको लागि असार अन्तिम नै कुरिने परम्परालाई तोड्दै बेंसीसहर नगरपालिकाले पहिलो चौमासिकमै १ सय बढी योजना सम्झौता गरेको छ । एक सय वटा योजना सम्झौताको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्षको साउनबाटै योजनाको काम अघि बढाएको नगरपालिकाले अहिलेसम्म १ सय २५ वटा योजना सम्झौता गर्न सफल भएको नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । विगतमा योजनाको काम माघ फागुनबाट सुरु हुने चलन थियो । नगपालिकाले भदौ १५ भित्र उपभोक्ता समिति निर्माण गर्ने र असोज १५ भित्र योजना सम्झौता गर्ने समयसीमा तोकेर प्रक्रिया अघि बढाएपनि तोकिएको समयभित्रै सबै योजना भने सम्झौता हुन नसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको चालू आर्थिक वर्षका लागि ४ सय ५१ योजना छनौट गरेर बजेट विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्ष भने ६ सय २१ वटा योजना थिए । अहिले योजना सम्झौता गर्ने कार्य धमाधम भइरहेको योजना शाखाका शाखा अधिकृत शम्भुप्रसाद घिमिरेले बताउनुभयो । योजना सम्झौता नभएर निर्माण सम्पन्न गरी भुक्तानी लिने काम समेत सुरु भएको उहाँले बताउनुभयो । सम्भौता भएका योजनामध्ये करीब ५० प्रतिशत काम सकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताउनुभयो । 


प्रतिक्रिया