‘अप्पन’ लघु चलचित्र उत्कृष्ट घोषित

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १, २०७६ | काठमाडौं

नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा मंगलबार आयोजित समारोहमा सो चलचित्रका निर्माता कृष्णकुमार महतोलाई दुई लाख रुपैयाँसहित प्रशंसापत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए । समारोहमा दोस्रो हुने चलचित्रलाई  एक लाख ५० हजार तथा तेस्रो हुने चलचित्रलाई  एक लाख रुपैयाँ र प्रशंसापत्र प्रदान गरियो ।     

समारोहमा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक र द शिवपुरी जर्नलका उत्कृष्ट तीन लेखलाई पुरस्कृत गरियो । महासेनानी रञ्जीत थापा, प्रमुख सेनानी शिवराज पन्त र चिरञ्जीवी भण्डारीका लेख उत्कृष्ट घोषित भए । उत्कृष्ट घोषित लेखका सर्जकलाई क्रमशः  ५० हजार,  ३५ हजार र र २५ हजार रुपैयाँ पुरस्कार र कदरपत्र प्रदान गरियो ।     

सोही समारोहमा प्रधानसेनापति थापाले नेपाली सेनासम्बन्धी विभिन्न जानकारीमूलक मोबाइल एपकोसमेत शुभारम्भ गर्नुभयो । प्रत्येक वर्ष नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गरी उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गर्दै आएको छ ।

यस्ता प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्र उत्पादनमा उल्लेखनीय भूमिका खेल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा ११ चलचित्र सहभागी थिए । 


प्रतिक्रिया