सपना धेरै थिए, गायक हुने मात्रै होइन : प्रकाश सपुत

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २४, २०७६ | काठमाडौं

प्रकाश सपुत पछिल्लो समयका चर्चित गायक हुन् । अलिकति फरक किसिमका गीत ल्याएका कारण लोकगीत क्षेत्रमा एकाएक चर्चामा आएका हुन्, सपुत । बोलमाया, गलबन्दी, दोहोरी ब्याटलवाट दर्शक र श्रोताको नजरमा परेका हुन् । उनै, सपुतसँग गरिएको छोटो कुराकानी ।

सानो छँदा गायक बन्ने सपना थियो ?

गायक बन्छु भन्ने एकोहोरो सपना थिएन । मेरो पहिलो खुड्कीलो कलाकारितावाट भएको हो । सपनाहरु धेरै थिए । जुन पुरा हुँदै गएका छन् ।

के कुराले यो क्षेत्रमा तान्यो ?

म सँग धेरै सपना भएपनि परिस्थितीले पनि यहि क्षेत्रमा धकेलेको जस्तो लाग्छ । काठमाण्डौंमा आउँदा पनि सुरुमै गीत गाउने काम पाएँ, गाउँमा हुँदा पनि गीत गाउने अवसर पाएँ ।

अन्य भेगका भन्दा गुल्मी, पाल्पा, अर्घाखाँची, बाग्लुङ, स्याङ्जा क्षेत्रका गीतले अलिकति बढि रेकर्डको बनाएको देखिन्छ, कसरी लिनुहुन्छ यो कुरालाई ?

अन्य भेगका गीत भन्दा यो क्षेत्रका गीतमा लय, भाका, शव्द रमाइलो खालको र सरल भएकाले पनि चर्चामा आएका हुन सक्छन् । छिटो मानिसलाई छुन सक्ने भएकाले पनि यो क्षेत्रका गीत हिट भएका हुन् जस्तो लाग्छ ।

लोक गायन के रहेछ ?

पहिलो कुरा स्वतस्फुर्त समाजवाट उत्पन्न भएको कुरा हो, लोकगीत । मानिस, प्रकृतीको जसरी उत्पन्न भयो, त्यसैगरी लोकगीत पनि जन्मिएको हो । लोकवाटै जन्मिएको कुरालाई लोकगीत पनि भन्न सकिन्छ कि ।

अहिले गलबन्दी गीतले चर्चा कमाइरहेको छ नि ?

यसको प्रस्तुतीकरण समाजवाट संकलित हो । समाजमा देखेको कुरा देखेर र सुनेर मौलिक शैलीलाई पछ्याएर बनाएको हो । लोकगीतको मुहान भनेको समाजनै हो, त्यहि मुहानवाट लिएको कुरालाई अलिकति फरक किसिमले प्रस्तुत गरेकाले हिट भएको हुन सक्छ । तर, गीत बनाउने क्रममा यो कसैको सुनेर, मिलाएर गराएको हैन । नितान्त आफैले रचना गरेको गीत हो, मिहेनत राम्रै भएको छ ।

गलबन्दीको गीत आफैमा राम्रो हो या गीतसँग बुनेको जुन कथा छ, त्यसले श्रोता दर्शकको मन छोएको हो ?

गीत चल्नुमा संयोग मान्नुपर्छ । कहिलेकाहि बनाउनेलाई राम्रो लाग्न सक्छ, आम मानिसले स्विकार गर्न नसकेको हुन सक्छ । मलाई लाग्छ, गीतको आफ्नै किसिमको भाग्य हुन्छ जस्तो लाग्छ । यो गीतको प्रस्तुतीकरणमा अलिकति फरक गराइएको छ । यसलाई अलिकति जिबन्त तरिकाले उठान गरेका कारण पनि धेरैले मन पराउनुभयो ।

रोधी गाउने चलन थियो, अहिले खासै छैन । यो गीत आफ्नै घरमा रोधी स्टायलमै बनाउनुभयो ।

पहिले कहिल्यै रोधी जानुभएको थियो ?

बच्चामा सुनेको हो, त्यस किसिमले हेर्न जान पाएनँ । तर उस्तै किसिमको शैली सुनेर र बुझेर गीत खिचिएको हो ।

(पुरा अन्तरवार्ता सुन्न माथिको लिंक खोल्नुहोला)


प्रतिक्रिया