कालीमाटी भित्रिने तरकारीमा मापदण्ड भन्दा बढी विषादी नरहेको पुष्टि

श्रावण २, २०७६ | काठमाडौं

काठमाडौंको कालीमाटी तथा फलफूल बजारमा आयातीत तरकारीमा मापदण्ड भन्दा बढी विषादी नरहेको पाइएको छ । कालिमाटी बजारमा गरिएको परीक्षणमा कुनै पनि आयातीत तथा आन्तरिक रुपमा उत्पादन भएका तरकारीमा खान नमिल्ने खालको विषादी नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्क्री चत्रपाणी खनालको निर्देशनपछि विभागले कालीमाटी बजारमा आयातीत तरकारीमा विषादी भए/नभएको बारे परीक्षण गरेको थियो । मन्त्री खनालले गत शुत्रबार कालीमाटीमा भित्रिएका तरकारीको नमूना संकलन गरी विषादी परीक्षणको प्रतिवेदन बुझाउन विभागलाई निर्देशन दिनुभएको थियो ।

विभागले बुझाएको प्रतिवेदन अनुसार ९ वटा उत्पादनमा ३० प्रकारका विषादीको परीक्षण गर्दा खान नमिल्ने खालको विषादी नभेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो । सबै उत्पादनमा सरकारले तोकेको मापदण्ड भित्रैको विषादी प्रयोग भएको पाइएको प्रवक्ता महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडी तथा भारत कानपुरको आलु र लौकामा एकै प्रकारको क्लोरो पाइडापस नामक विषादी प्रयोग भएको छ । ९ वटा उत्पादनमा ३० वटा विषादीको जाँच गर्दा सबैमा निलो अर्थात सरकारले तोकेको मापदण्ड भित्रै विषादी प्रयोग भएको देखिएको विभागले जनाएको छ ।

वर्षाको मौसम भएकाले पनि विषादी युक्त तरकारी आउने सम्भावना कम रहने उहाँले बताउनुभयो । भारतबाट आयातीत र आन्तरिक रुपमा उत्पादन भएका बेमौसमी तरकारीमा भने विषादीको प्रयोग भएको हुन सक्ने भएकाले परीक्षणको काम भने जारी नै रहने उहाँले बताउनुभयो । वर्षाको सिजन सकिएपछि भने बैमौसमी तरकारी भित्रिने हुँदा परीक्षणमा कडाई गर्नुपर्ने उहाँको भनाई छ । 


प्रतिक्रिया