अल्जेरियाले जित्यो, अफ्रिका कप अफ् नेसन्सको उपाधि

रेडियो कान्तिपुर संवाददाता

श्रावण ४, २०७६

- सेनेगललाई हराउँदै अल्जेरियाले अफ्रिका कप अफ् नेसन्सको उपाधि जितेको छ । गएराति इजिप्टको कायरोमा सम्पन्न अन्तिम खेलमा सेनेगललाई १–० गोल अन्तरले हराउँदै अल्जेरियाले उपाधि हात पारेको हो ।  

खेलको दोस्रो मिनेटमा बगदाद बौनेदजाहले गरेको गोल नै अल्जेरियाको जितका लागि निर्णायक बन्यो । दोस्रो हाफमा हृयाण्ड बल भएको भन्दै सेनेगलविरुद्द अल्जेरियाले पेनाल्टीको अवसर पाएको थियो । तर भीएआर अर्थात भिडियो एसिस्टेन्ट रेफ्रीले त्यो पेनाल्टीको निर्णय उल्टाएका थिए । ६८ प्रतिशत पोजिशनमा रहेको सेनेगलले अल्जेरियामाथि दबाब बनाएपनि गोल भने गर्न सकेन ।

  सेनेगलले १२ पटकसम्म अल्जेरियाको पोष्टमा गोल गर्ने प्रयास गरेपनि ती सबै प्रयास विफल भएका थिए । यसअघि सन् १९९० मा पहिलो उपाधि उचालेको अल्जेरिया दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।  सन् २००२ मा  उपविजेता बनेको सेनेगलले यसपटक पनि सोही यात्रा दोहोर्‍यायो । 

 


प्रतिक्रिया