स्कूल विभागमा नेताहरुको दावी पर्नु अस्वभाविक हैन : जीवनराम श्रेष्ठ, नेता नेकपा

रेडियो कान्तिपुर संवाददाता

श्रावण ६, २०७६ | काठमाडौं

नेकपाका नेता जीवनराम श्रेष्ठले पार्टीको स्कूल विभागको नेतृत्व गर्ने आकांक्षा नेताहरुमा हुनु अस्वभाविक नभएको बताउनुभएको छ । पार्टीको महत्वपूर्ण विभागमध्ये एक भएकाले यसमा नेताहरुको चाहना हुनु र त्यसका लागि छलफल चलाइनु लोकतान्त्रिक विधि नै भएको उहाँको दावी छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै नेता श्रेष्ठले दुई ठूला पार्टीबीचको एकता टुङ्गिन केही समय लाग्ने बताउनुभयो । 

सरकारले गरेका सबै कामको बचाउ गर्ने पक्षमा नेकपाका सांसदहरु नरहेको भन्दै उहाँले पार्टीले उच्चस्तरको लोकतान्त्रिक अभ्यास गरेको उल्लेख गर्नुभयो । फरक प्रसङ्गमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष समेत रहेका श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकूद सागका लागि भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्र पार्नुपर्ने सुझाव दिनुभयो । अहिलेको गतिलाई केही बढाएमात्रै आगामी डिसेम्बरमा काठमाडौंमा साग हुने उहाँको कथन थियो । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितालाई राष्ट्रिय गौरव मानेर अघि बढ्न सरकार र कर्मचारीतन्त्र असफल भएकाले तीनपटकसम्म सागको मिति सार्नु परेको उहाँले बताउनुभयो ।

 


प्रतिक्रिया