थाईल्याण्डबाट १० नेपालीको उद्दार

रेडियो कान्तिपुर संवाददाता

श्रावण ६, २०७६ | काठमाडौं

सम्झौताबमाजिमको सेवा सुविधा नपाएपछि समस्यामा परेका १० जना नेपाली प्रशिक्षार्थीलाई थाईल्याण्डको बैंककबाट उद्धार गरिएको छ । काठमाडौंको  बागबजारस्थित कीर्तिपूर अब्रोड स्टडिज नामक कन्सल्टेन्सीबाट बैंककस्थित इन्टरनेश्नल होटेल एण्ड एयरलाईन्स विजनेस स्कूल अलेजमा प्रशिक्षण पठाइएका विद्यार्थीको उद्धार गरिएको हो ।

खाद्य तथा पेयसम्बन्धी तालिमका लागि पुगेका ती प्रशिक्षार्थीले सम्झौता बमोजिम तालिम तथा सुविधा नपाएकाले समस्यामा परेको भन्दै निवेदन दिएपछि गत बुधबार ३ जनाको र शुक्रबार ७ जनाको उद्धार गरी नेपाल पठाइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

कन्सल्टेन्सीमार्फत विदेशस्थित शैक्षिक संस्था तथा तालिम प्रदायक इन्स्टिच्यूट वा स्कूलमा जानुअघि त्यस्ता संस्थाबारे बिस्तृत जानकारी लिन तथा ती संस्थाले विदेशी विद्यार्थी एवं प्रशिक्षार्थी भर्ना गर्न पाउने अनुमति लिए/नलिएको यकीन गरेर मात्र प्रकृया अघि बढाउन पनि दुतावासले आग्रह गरेको छ । 


प्रतिक्रिया