पहिरोले विभिन्न स्थानमा सडक अवरुद्ध

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७६

- वर्षापछि आएको बाढी र पहिरोका कारण मुलुकभरका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा आवागमनमा समस्या भएको छ । लगातारको बर्षापछि आएको बाढीले लमजुङ र मनाङ सीमानाको म्यार्दी खोलाको बेलीबृज बगाउँदा १ महिनादेखि आवागामन ठप्प छ । विकल्पका रुपमा काठको पुल बनाइएको र त्यसलाई पनि बाढीले क्षति पुर्‍याएपछि नयाँ बेलीबृज बनाउने तयारी भईरहेको डिभिजन कार्यालय दमौलीका ईन्जिनियर विष्णुप्रसाद काफ्लेको भनाई छ ।

सो स्थान बेसिशहरबाट ३५ किलोमिटर र चामेबाट ३० किलोमिटरको दुरीमा छ । म्यार्दी खोला हुँदै मालसामान ढुवानी गर्न समस्या भएपछि अहिले डोजरको सहायतामा काम ढुवानी गर्नुपर्ने बाध्यता छ । यता, सिद्धार्थ राजमार्ग अर्न्तगत रुपन्देही र पाल्पाको सीमानामा रहेको सिद्धबाबा नजिकै दोभान भन्ने स्थानमा पहिरो खस्दा अवरुद्ध भएको सडक आज बिहानबाट एकतर्फी सञ्चालनमा आएको छ ।

दोभान नजिकै पहिरो खसेपछि आवागमनमा समस्या भएको दोभान चौकीका प्रमुख बालबहादुर घर्ती मगरले बताउनुभयो । त्यस्तै, सिद्धिचरण राजमार्ग अर्न्तगत सोलुखुम्बु, खोटाङ र ओखलढुंगालाई पूर्वपश्चिम राजमार्गबाट तराई जोड्ने सडक बिग्रिँदा २६ गते यता आवागमन ठप्प छ । उदयपुरको कटारी नगरपालिकास्थित ठाँटी भन्ने स्थानमा पहिरोले सडक ५ सय मिटर जति क्षति पुर्‍याएपछि आवतजावत ठप्प बनेको हो ।

सो सडक प्रयोग गर्ने नमिल्ने गरि बिग्रिएपछि विकल्पका लागि ठाँटीकै उत्तरतर्फ ४० मिटर गहिरो र ५ सय मिटर लम्बाईको नयाँ ट्रय्का खोल्ने काम अघि बढेको डिभिजन कार्यालय लहानका प्रमुख विनोद कुमार शाहले बताउनुभयो । नयाँ ट्रय्का खोल्ने काम ४ दिनयता मात्रै सुरु भएको उहाँले बताउनुभयो ।  


प्रतिक्रिया