कर र भीसीटीएसको विरोधमा हेटौंडा बन्द

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७६ | मकवानपुर

सरकारले जथाभावी कर वृद्धि गरेको भन्दै मकवानपुरका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । कर वृद्धि र लगानीमैत्री वातावरण नबनाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको आहृवानमा व्यवसायीले मंगलबार हेटौंडा बजार बन्द गराएका छन् ।

सरकारले आर्थिक वर्ष ०७६/०७७ बाट लागू गर्न लागेको भीसीटीएस तथा विभिन्न करको विरोधमा व्यवसायीहरुले हेटौंडा बजार बन्द गरेका हुन् । संघका कार्यबाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा सोमबार भएको भेलाले सरकारको निर्णय सच्याउन दबाब स्वरुप बजार बन्दको आहृवान गरेको थियो । सरकारले लागू गर्न लागेको कर नीति जस्ताको त्यस्तै पालना गर्न नसकिने भएकाले विरोध गर्नु परेको संघको भनाई छ । 

बजार बन्द गर्न व्यवसायीहरुले बिहान र्‍याली समेत निकालेका थिए । हेटौंडाको चेम्बर मार्गबाट सुरु भएको विरोध र्‍यालीले पूर्ण रुपमा हेटौंडा बजार परिक्रमा गरेको थियो ।  संघमा आवद्ध विभिन्न वस्तुगत समितिले समेत बन्दको समर्थन गरेका छन् । आकस्मिक रुपमा बजार बन्द हुँदा उपभोक्ताहरु भने मारमा परेका छन् ।


प्रतिक्रिया