तयारी नपुग्दा योजना छान्न सकिएन : मन्त्री ढुंगेल

श्रावण ७, २०७६ |  रामेछाप

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले तयारी नपुगेकोले चालू आर्थिक बर्षका योजनाहरु योजना बैंकबाट छनौट गर्न नसकेको बताउनु भएको छ ।

रामेछापको मन्थलीमा मंगलबार पत्रकार झेटघाट कार्यक्रममा मन्त्री ढुंगेलले विगत वर्षमा साना र टुत्रे योजनामा प्रदेश सरकारको लगानी छरिएको कुरा स्वीकार्दै आगामी दिनमा प्रभावकारी र दोहोरोपन नहुने गरी योजना तर्जुमा गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो वर्षनै योजना बैंकबाट योजना छनौट गर्ने योजनामा हामी काविल भएनौं । अर्को वर्ष देखि योजना बैंकलाई प्रभावकारी कार्यान्वयनमा ल्याउछौं ।’ योजना बैंकबाट नभई बाहिरबाट योजना हालेको भन्दै प्रदेश योजना आयोगका उपाध्यक्षले राजीनामा दिएको भन्दै उहाँले तयारी र अभ्यास नपुगेरकाले यो अवस्था आएको बताउनुभयो ।

थुप्रै असजिलोको बाबजुद प्रदेश सरकारले ५९ प्रतिशत बजेट खर्च गर्न सकेको ढुंगेलले बताउनुभयो । ७ वटा प्रदेश मध्ये सबैभन्दा बढी योजना र बजेट रहेको प्रदेश ३ सरकारले यो वर्ष समेत अरु भन्दा १५ अर्व बढी बजेट ल्याएको उहाँले सुनाउनुभयो । ‘कामहरु भएका छन् तर, केही तत्व नकरात्मक प्रचारमा छने’ मन्त्री ढुंगेलले भन्नुभयो, नागरिक समाजले योजनाहरुको कार्यान्वयन पक्ष सूक्ष्म तरिकाले अवलोकन गरेमा त्यस्ता प्रचारले केही अर्थ हुँदैन । 

रामेछापका पूर्वाधार, कृषि पर्यटन, खेलकुद, शिक्षा, उद्योग र स्वास्थ्यका क्षेत्रमा यथेष्ट बजेट विनियोजन भएकाले योजनावद्ध गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा ३ वटा महत्वपूर्ण सडकको कालोपत्रे १८ महिना भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको र अन्य योजनाहरु बहुवर्षीय ठेक्का लगाउने प्रकृयामा अघि बढेको मन्त्री ढुंगेलले बताउनुभयो ।

प्रदेश ३ सरकारको प्रवक्ता समेत रहेका मन्त्री ढुंगेलले प्रदेशको नामाकरण र राजधानीको विषय अब बस्ने प्रदेशसभाको बैठकबाट टुंगो लगाउने बताउनुभयो । राजधानी रहने स्थान र नामका विषयमा भने उहाँले केही खुलाउनु भएन । 


प्रतिक्रिया