छानबिन समितिको कार्यशैली उपयुक्त भएन : प्रधानमन्त्री

रेडियो कान्तिपुर संवाददाता

श्रावण ७, २०७६ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिन सम्बन्धमा गठन भएको समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । काठमाडौंमा आज प्रतिष्ठानको तेस्रो सभा बैठकलाई सम्बोधन गर्दै उहाँले प्रतिवेदनको विश्वसनियता माथि नै प्रश्न गर्नुभयो ।

प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “समितिले प्रतिवेदन सबैभन्दा पहिला कुलपतिलाई बुझाउनुपर्ने हो तर, सामाजिक सञ्जाल र सञ्चार माध्यममा पहिला आयो । यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानु भएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नुपर्दैन ?” 

समितिले कुलपतिलाई बुझाउनुपर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताउँदै प्रधानमन्त्री ओलीले दबाब सिर्जना गर्न कुलपतिलाई बुझाउनु अघि सार्वजनिक गरेको दाबी गर्नुभयो । 

अनियमितता छानबिन गर्न भन्दै गत जेठ ३० गते सरकारले समिति गठन गरेको थियो ।

समितिको हवाला दिंदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन उपकुलपतिलाई बुझाउनु अघि नै विभिन्न सञ्चार माध्यममा प्रकाशन प्रसारण भएको थियो । 


प्रतिक्रिया