सामाजिक सञ्जाल प्रयोगकर्ता जानकार छन् तर सचेत छैनन् ः शेयरकाष्ट इनिसिएटिभ नेपालका अध्यक्ष आचार्य

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | काठमाडौं

- शेयरकाष्ट इनिसिएटिभ नेपालका अध्यक्ष मधु आचार्यले सामाजिक सञ्जालका प्रयोगकर्ताहरु फेक न्युजका बारेमा जानकार रहे पनि सचेत नरहेको बताउनुभएको छ ।  शेयरकाष्टले गरेको नेपाल मिडिया सर्वे २०१९ ले सामाजिक सञ्जालमा शेयर भएका समाचारको सत्य तथ्यबारे ४६ प्रतिशतले वास्ता नगर्ने गरेको पाइएको छ ।

त्यस्तै ४५ प्रतिशतले समाचारको स्रोत र सत्य तथ्यबारे बुझ्ने गरेको बताएका छन् । ४० भन्दा बढी जिल्लामा गरिएको अध्ययन अनुसार सामाजिक सञ्जालमा आएका सबै सामग्रीको सत्यता जााच नगरी शेयर र लाइक गर्ने गरेको पाइएको छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै आचार्यले सामाजिक सञ्जालमा लेखिएका कुराले पार्ने प्रभावका बारेमा यसका प्रयोगकर्ताहरु सचेत छैनन् । नेपाली सञ्चार माध्यमका लागि सामाजिक सञ्जालका पोखिएका भावनाहरु एउटा गतिलो समाचारजन्य खुराक हुनसक्ने भएपनि यसबाट कुनै असुरक्षा महसुस गर्न नपर्ने उहाँको कथन छ ।

त्यस्तै पत्रकार जनकराज सापकोटाले समाजका भएका आक्रोश, कुण्ठा र उत्पीडन पोख्ने थलोको रुपमा सामाजिक सञ्जाल विकसित भएको बताउनुभयो । सामान्य मानिस र जनजीवनका समाचारमा मुलधारको पत्रकारिताको ध्यान जान नसक्दा पनि सामाजिक सञ्जालमा उनीहरु आफैंले आफ्नो कथा व्यथा राख्ने गरेको सापकोटाले सुनाउनुभयो ।

सामाजिक सञ्जाल र युट्युबमा पोष्ट गरिने सामग्री सबै सत्य तथ्यमा आधारित नहुने भएकाले पनि दर्शक श्रोता र पाठक भ्रममा पर्ने गरेको उहाँले बताउनुभयो । यसका लागि पाठक आफैं सचेत हुनुपर्ने र सामग्री पोष्ट गर्नेले पनि लाईक र शेयरका लागि जथाभावी र अतिरञ्जित सामग्री राख्न नहुने तर्क सापकोटाको छ । व्यक्तिगत तवरबाट पोष्ट गरिने सामग्रीको निश्पक्षता र तटस्थता समेत जाँच्न अप्ठेरो पर्ने भएकाले पनि दर्शक, श्रोता र पाठक सजिलै भ्रममा पर्ने उहाँको कथन छ ।

 


प्रतिक्रिया