उप–निर्वाचनको तयारी तीव्र  

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | काठमाडौं

- निर्वाचन आयोगले आगामी मंसिर १४ गते गर्ने उपनिर्वाचनको तयारी प्रक्रिया तीव्र पारेको छ । विभिन्न कारणले रिक्त रहेका ५० स्थानमा हुने उप–निर्वाचनका लागि कार्यविधी निर्माणसहित मतदाताको नाम प्रशोधनको काम सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

यो प्रक्रियासँगै मतदाता शिक्षाका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्ने आयोगको तयारी छ । यसबीचमा चाड पर्व समेत परेकाले त्यस अगावै निर्वाचनका प्रक्रिया सुरु गरिएको प्रवक्ता शंखर खरेलले जानकारी दिनुभयो । मतदाता नामावली संकलनसँगै दाबी बिरोधपछि सम्बन्धीत क्षेत्रको मतदाता नामावली तयार हुनेछ ।

यसबीचमा १८ वर्ष उमेर पुगेका मतदाताले नामावली संकलन गराए उप–निर्वाचनमा मतदानको उपयोग गर्न पाउने प्रवक्ता खरेलले जानकारी दिनुभयो ।  यसैबीच भोजपुरको पौवादुङ गाउँपालिका १ मा पनि मंसिर १४ गते नै उप–निर्वाचन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । यसअघि उपनिर्वाचनका लागि ५० स्थान टुंगो तय भएको थियो ।

सो वडामा पनि निर्वाचन भए, उपनिर्वाचन हुने कुल संख्या ५१ हुनेछ । साउन १८ गते निमोनियाका कारण वडाअध्यक्षको मृत्यु भएपछि सो वडा  जनप्रतिनिधि बिहिन बनेको थियो । आयोगले मन्त्री परिषद्बाट त्यसको औपचारिक जानकारी आए सोही मितिमा निर्वाचन गर्ने जनाएको छ ।

 


प्रतिक्रिया