सुदुरपश्चिममा हर्सोल्लासका साथ गौरा पर्व मनाईदै

रेडियो कान्तिपुर संवाददाता

भाद्र ६, २०७६ | सुदुरपश्चिम

- सुदुरपश्चिमबासीको महत्वपुर्ण गौरा पर्व आज हर्सोल्लासका साथ मनाईदैछ । काठमाडौंमा बसोबास गर्दे आएका सुदुरपश्चिबासीले टुँडीखेलमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । प्रदेश ७ अन्तर्गतका जिल्लामा गौरा पर्वको रौनक छाएको छ । गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमीका दिन गौराको पूजाआजा गरी मनाइन्छ ।

प्रदेश ७ को मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुृरा, दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत मनाउने चलन छ । काम विशेषले घरबाट टाढा गएकाहरु पनि गौरा पर्व मनाउन गाउँमा फर्कने गर्छन् । भदौ शुक्ल पञ्चमीदेखि महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भााडामा विरुडा भिजाएपछि गौरा पर्व सुरु हुन्छ ।  सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ । भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर पखाल्ने चलन छ ।

अठवली अर्थात् अष्टमीको दिन  आज भने व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । पूजा सकिएपछि छरछिमेकमा प्रसादका रुपमा बााडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसरी खाादा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत रहेको छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य समेत गरिन्छ ।

 यसैबीच गौरा पर्वको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमंग जागृत गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले गौरा पर्व लगायत अन्य  मौलिक चाडको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण समेत गराउनुभएको छ । 

 


प्रतिक्रिया