सिरहाका ५ डेरी उद्योगमा सिलबन्दी

भाद्र ६, २०७६ | सिरहा

जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सिरहाका ५ डेरी उद्योगमा सिलबन्दी गरेको छ । दूध तथा दुग्धजन्य खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्य माथि खेलवाड गरेको भन्दै ५ डेरी उद्योगमा सिलबन्दी गरेको हो ।

जिल्लाका सिरहा नगरपालिका क्षेत्र, मिर्चैया, नरहा, चोहर्वा क्षेत्रका दूध डेरी उद्योगमा अनुगमन सुरु गरेको हो । बुधबार र बिहीबार दुई दिनसम्म गरेको अनुगमनका क्रममा दूध तथा दुग्धजन्य खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत संचालित जिल्लाका ५ वटा दुध डेरी उद्योगलाई टोलीले सिलबन्दी गरेको हो । 

टोलीले जिल्लाका १३ वटा दूध डेरी उद्योगमा अनुगमन गरिसकेको जिल्ला प्रशासन कार्यालय सिरहाका शाखा अधिकृत कमल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमन गरिएका मध्ये ५ डेरी उद्योगमा सिलबन्दी गरिएको छ । सिलबन्दी गरिएकामा अधिकांश दूध डेरी उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुमति लिएका छैनन् । 

टोलीले सिरहा नगरपालिका १५ स्थित लक्ष्मी डेरी उद्योग, सोही नगरपालिका ३ का बजरञ्ग, १ नम्बर वडाका च्वाइस दही तथा आईसक्रिम उद्योगमा सिलबन्दी गरेको छ । त्यसैगरी, नरहा गाउँपालिका ५ स्थित सुधा डेरी उद्योग र मिर्चैया नगरपालिका ६ स्थित जयरामनाथ डेरी उद्योगमा सिलबन्दी गरिएको छ । अन्य उद्योगलाई सचेत गराइएको छ ।

सिलबन्दी गरिएका अधिकांश उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञा पत्र नलिएको, उत्पादन स्थल अत्यन्त फोहोर तथा दुर्गन्धीत भएको, उत्पादित खाद्य पदार्थमा लेवल नभएको र मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अवैद्य स्किमड मिल्क पाउडर प्रयोग गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिनुभयो ।  

‘उद्योगहरुले दूध तथा दुग्ध पदार्थमा खाद्य स्वच्छता सम्बन्धी निर्देशिका २०७५ बमोजिम न्यूनतम मापदण्ड पनि पूरा गरेको पाइएन’ डिभिजन प्रमुख सिंहले भन्नुभयो, ‘यस्ता उद्योगबाट उत्पादित खाद्य पदार्थले मानव स्वास्थ्यमा हानी पुर्‍याउने भएकाले बेलैमा उद्योगमा सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाएका हौं ।’

निर्देशिकामा दुध संकलन र बिक्री बितरण गर्दा कम्तीमा एल्मुनियम वा स्टेनलेस स्टीलको भाँडो प्रयोग गर्नुपर्ने, भवन तथा भौतिक संरचना राम्रो हुनुपर्ने, उत्पादन स्थलमा टायल वा मार्वल प्रयोग गर्नुपर्ने, झ्याल ढोकामा जाली हुनुपर्ने, पानीको स्वच्छ तथा स्रोत राम्रो हुनुपर्ने, कामदारले एप्रोन, मास्क प्रयोग गर्नुपर्ने उल्लेख छ । 

त्यसैगरी निर्देशिकामा ढल नालाको व्यवस्था हुनुपर्ने, हातधुने सुविधा, भण्डारण सुविधा, प्रयोगशालाको उचित व्यवस्थापन, स्यानिटेशनबारे जानकारी हुनुपर्ने, उपकरण तथा प्रशोधन यन्त्रहरु फूड ग्रेडको हुनुपर्ने लगायत उल्लेख छ । तर, अनुगमन गरिएका उद्योगहरुमा उल्लेखित मापदण्ड पूरा गरेको नपाइएको डिभिजन प्रमुख सिंहले जानकारी दिनुभयो । 


प्रतिक्रिया