तुलसीपुरमा बालश्रममुक्त वडा घोषणा

रेडियो कान्तिपुर संवाददाता

भाद्र २८, २०७६ | दाङ

 तुलसीपुर उपमहानगरपालिका वडानं. ६ बालश्रममुक्त घोषणा भएको छ । बालश्रमिकहरुको संख्या शुन्य भएपछि आज बालश्रममुक्त घोषणा गरिएको हो । सर्वेक्षणका क्रममा १३ बालश्रमिक फेला परेको र उनीहरुलाई परिवारमा पुनर्स्थापना गरिएपछि बालश्रममुक्त घोषणा गरिएको वडा अध्यक्ष नवराज लामिछानेले बताउनुभयो ।

बालश्रम बालअधिकारको मुख्य चुनौती भएकाले लामो समयदेखि यसबिरुद्धका अभियान सञ्चालन गरिएको उहाॅले बताउनुभयो । आज बिभिन्न टोल विकास संस्था, महिला समूह, बालबालिका र अन्य सरोकारवालाहरुको सहभागितामा र्‍याली र झाॅकी प्रदर्शन गर्दै बालश्रममुक्त वडा घोषणा गरिएको थियो । बालश्रममुक्त घोषणाको दिगोपनाका लागि घोषणापछिको पाॅच बर्षे रणनीति पनि तयार गरिएको लामिछानेले बताउनुभयो । वडानं. ६ मा १२ हजार ९ सय ६९ जनसंख्या रहेको छ । जसमध्ये १८ बर्षमुनिका बालबालिका ५ हजार ७ सय १ रहेको उनले बताए । वडामा १० गाउॅ र ७२ टोल विकास संस्था छन् । 

वडाका ३ हजार ३ सय १३ घरपरिवारमध्ये दैनिक ज्यालादारीमा जिविका चलाउने परिवार ५१.६७ प्रतिशत रहेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । सन् २०११ मा गरिएको सर्वेक्षणमा तुलसीपुरमा २ सय ४९ बालश्रमिक फेला परेका थिए । जसमध्ये वडानं. ६ मा ५५ जना थिए । त्यसपछि बालश्रमिक न्यूनिकरणको अभियान थालिएको उहाॅले बताउनुभयो । अहिले ३ हजार २ सय ४९ घरपरिवारमा सर्वेक्षण गर्दा बालश्रमिक नभेटिएको लामिछानेले जानकारी दिनुभयो ।

अब बालमैत्री उपमहानगर बनाउन पहल गरिने नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । न्यायिक समितिमा पनि काखमा बच्चा च्यापेका र बालबालिका जोखिमपूर्ण अबस्थामा रहेका महिलाहरु नै बढी आउने गरेको न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख माया शर्माले बताउनुभयो । अब जोखिममा रहेका बालबालिकालाई पनि बालश्रमबाट बचाउन बिशेष ध्यान दिइने उहाॅले बताउनुभयो ।

बालश्रममुक्त वडा घोषणा गर्दै संघीय सांसद् हिराचन्द्र केसीले बालश्रममुक्त वडा घोषणापछि नगरको इज्जत बढेको बताउनुभयो । बालबालिकाका अधिकार संरक्षण गर्न यो अभियानले महत्वपूर्ण योगदान गर्ने उहाॅले बताउनुभयो । बिभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सरोकारवालाहरुले बालश्रममुक्त नगर बनाउन आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 


प्रतिक्रिया