यस कारण ढिलो भएको थियो पर्यटन मन्त्रीको उडान

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३०, २०७६ | काठमाडौं

काठमाडौँ — कर्णाली छेउमा आयोजित डल्फिन महोत्सवमा प्रमुख अतिथि बनाइएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार बिहान काठमाडौंबाट धनगढी उत्रिए, बुद्ध एयरको उडानमा । दुई जना सुरक्षाकर्मी र एक जना स्वकीय सचिवसहित पुगेका उनी आयोजकले पठाएको टीकापुर नगरपालिकाको गाडीमा चढेर गेटा विमानस्थलबाट महोत्सवस्थल पुगे ।

कार्यक्रम सकेर काठमाडौं फर्कने तय भइसकेको थियो तर टीकापुरबाट धनगढी फर्किएर साँझ साढे ५ बजेको जहाज भेट्न नसकिने भएपछि आयोजकको सल्लाहमा मन्त्रीसहित चार जना नेपालगन्जबाट आउने भए । धनगढीबाट फर्कने चार जनाको टिकट ३ बजे नेपालगन्जस्थित बुद्ध एयरको कार्यालयलाई जानकारी गराएर सारियो ।

धनगढीको तुलनामा नेपालगन्जबाट एक घण्टा अबेरसम्म जहाज पाइने भएकाले मन्त्री भट्टराई पौने ४ बजे कार्यक्रम सकेर नगरपालिकाकै गाडीमा हुइँकिए । पूर्वपश्चिम राजमार्गबाट लामो हुने भएकाले बर्दिया राजापुरभित्रको हुलाकी सडक पछ्याए । राजापुर, गुलरिया र खजुरा हुँदै जब उनी विमानस्थल पुगे, जहाज होल्ड गराएको भन्दै अन्य यात्रुले गालीगलौज गरे, हूलहुज्जत प्रयास गरे ।

यस्तो अवस्था कसरी भयो ? मन्त्रीलाई नेपालगन्ज विमानस्थलबाट जहाजमा उडाउने जिम्मेवारी लिएका नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुर भन्छन्, ‘काठमाडौंबाट आएको जहाज नेपालगन्ज ग्राउन्डमा ५५ मिनेट बस्यो । जसमा जहाजको इन्जिन सट–डाउन गरिएपछि यात्रु ओराल्ने, चढाउने, इन्धन र कार्गो राख्ने आदि समयमा ३५ देखि ४० मिनेट लाग्छ । त्यसबाहेक अतिरिक्त समय १५ मिनेट ढिलाइ भएको हो ।’ यस घटनाबारे नागरिक उड्डयन प्राधिकरणले नेपालगन्ज विमानस्थललाई आइतबार प्रस्टीकरण पठाउन निर्देशन दिएको छ ।

शनिबार नेपालगन्जमा भएको घटनाबारे सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि मन्त्री भट्टराईले आफ्नो कारण भएको १५ मिनेट ढिलाइमा क्षमा मागेका छन् ।

ढिलाइ हुनुमा मन्त्रीको स्वकीय सचिव प्रेम गुरागाईं, नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर र एयरलाइन्सका स्टेसनका कर्मचारीबीच भएको त्रिपक्षीय ‘कम्युनिकेसन ग्याप’ देखिएको घटनालाई नजिकबाट नियालिरहेका एक अधिकारी भन्छन्, ‘टाइम क्यालकुलेसन गर्न जानेको भए यस्तो हुँदैनथ्यो । मन्त्रीलाई चाकरी गर्ने प्रवृत्तिले यस्तो भएको हो ।’

मन्त्रीको गाडीमा सवार प्रहरीका सई विमल नेपाल र सेनाका जमदार पदमबहादुर मल्ल र स्वकीय सचिव गुरागाईंलाई राजापुरभित्रको हुलाकी बाटोबारे जानकारी थिएन । नेपालगन्ज विमानस्थलका प्रमुख ठाकुरको फोन सम्पर्कमा गुरागाईं टीकापुरदेखि नै थिए । बाटोमा जहाँ पुग्थे, त्यहाँको साइनबोर्ड पढेर ‘यो ठाउँ पुग्यौं’ भन्थे ।

उनले टिपाएको खबर ठाकुरले बुद्ध एयरका कर्मचारीलाई दिँदै आइरहेका थिए । बुद्ध एयरका स्टेसन इञ्चार्ज विनित शाह बिदामा थिए । शाहका सहयोगी रितेश श्रेष्ठलाई ठाकुरले खबर टिपाइरहेका थिए । श्रेष्ठले नै यात्रुलाई बोर्डिङ गराए । ‘यता स्टेसनह्यान्डल गर्ने मान्छे परिपक्व अनुभवी भएनन् । उता हुलाकी बाटो हुँदै मन्त्री केही ढिला आइपुगे,’ यो घटना हेरिरहेको स्रोतले भन्यो, ‘समयको सही व्यवस्थापन गर्न नजान्नु र स–साना उल्झनले घटना भएको देखिन्छ ।’

‘जहाजमा पछिल्लोपटक सरकारलाई सडकबाट आलोचना गर्ने ज्ञानेन्द्र शाही हुनु र सरकारका पर्यटनमन्त्री ढिलो आउनुले यो घटना चर्चामा आयो,’ बुद्ध एयरका एक पाइलटले भने, ‘प्रायः आन्तरिक उडानमा यात्रुहरू कम्तीमा आधा घण्टाको डिलेमा परेकै हुन्छन् । डिले हुनुपर्ने कारण मौसम, प्राविधिक समस्या, भीभीआईपी आवागमनर धावनमार्गमा पशुपन्छीकागतिविधि हुन्छन् ।’

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले यो घटना हुनुमा नेपालगन्ज विमानस्थल र त्यहाँको विमानस्थलको सुरक्षा युनिट जिम्मेवार रहेको बताए । ‘देशको मन्त्री पनि सवार हुने भएपछि कहिलेकाहीँ केही मिनेट कुर्नुपर्ने व्यावहारिक पक्ष पनि आइलाग्छ,’ शनिबारको घटनाबारे उनले भने, ‘नेपालमा अनटाइम उडानको नियम पालना विरलै हुन्छ ।’

उनले परिस्थितिअनुसार जहाजले यात्रु कुर्नुपर्ने बाध्यता रहेको बताए । ‘इनरुटको मौसम अत्यधिक तीव्र गतिमा खराबी हुँदै छ भने त्यस्तो बेला पाइलटले कुर्न मिल्दैन र कुर्दैन,’ बस्नेतले केही समयअघि सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई भैरहवा विमानस्थलमा छाडिएको घटना स्मरण गर्दै भने । शनिबार भने नेपालगन्ज काठमाडौंको मौसम सामान्य थियो ।

शनिबार बेलुकीको घटना आइतबार बिहान मात्रै थाहा पाएका बस्नेतले बेलाबेला यस्ता घटना भइरहने बताउँदै भने, ‘हूलहुज्जत गर्ने, कानुन हातमा लिने घटना बेलाबेला हामी भोगिरहेका हुन्छौं, बेलैमा उडान हुने/नहुने विषयमा विभिन्न कारण जोडिएका हुन्छन् । सबै पाइलटको हातमा हुँदैन तर कतिपय यस्ता यात्रु हुन्छन्, जहाजमै आगो लगाइदिन्छु भन्छन् । हाम्रा कर्मचारीले कुटाइ खाएका घटना त सामान्य नै भए ।’

यसैबीच मन्त्रीका स्वकीय सचिव गुरागाईंले आइतबार मन्त्रीमाथि भएको दुर्व्यवहारलाई मण्डले प्रवृत्ति भन्दै विज्ञप्ति जारी गरेका छन् । ‘मण्डले प्रवृत्तिको विरोध र धम्कीले रत्तिभर विचलित नभई लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

यसैबीच वायुसेवा सञ्चालक संघले शनिबारको घटनाले ध्यानकर्षण भएको जनाएको छ । उसले उडान र हवाई सुरक्षामा असर परेको जनाउँदै यात्रुलाई अनुशासनका लागि अनुरोध गरेको छ ।


प्रतिक्रिया