दोषीलाई कारबाहीको प्रतिवद्धता पछि संसदको गतिरोध हट्यो

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७६ | काठमाडौं

बाँके घटनाका दोषीलाई सरकारले कारबाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हटेको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधि सभाको आजको बैठकमा दोषीलाई कानूनी दायरामा ल्याउन कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले गल्ती नगरेका कोही नफस्ने र गल्ती गरेका कसैले पनि उन्मुक्ति नपाउने दाबी गर्नुभयो । सो घटनाका दोषीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीले सदनलाई नै जानकारी गराएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसका शीर्ष नेतालाई यसअघि नै आश्वस्त पारिसकेको ढकालले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी कांग्रेसले आज पनि बाँके घटनाको विषयमा सरकारको स्पष्ट धारणा नआएसम्म सदन चल्न नदिने अडान लिएपछि कानून मन्त्री ढकालले जवाफ दिनुभएको हो । बैठकको सुरुमा नै कांग्रेसका दिलेन्द्र प्रसाद बडुले दोषीलाई कारबाही गर्ने विषयमा पुन: सरकारको ध्यानाकर्षण गराउनुभयो ।

घटनालाई राजनीतिकरण गर्न र ढाकछोप गर्न खोजिएको आरोप लगाउँदै उहाँले सरकारको स्पष्ट जवाफ नआएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याउनुभयो । प्रतिपक्षी कांग्रेसले यसअघि पनि सोही घटनाको विषयलाई लिएर प्रतिनिधि सभाको दुई वटा बैठक अवरुद्ध पारेको थियो ।

कांग्रेसको यसअघि आज बिहान बसेको संसदीय दलको बैठकले पनि सरकारको चित्तबुझ्दो जवाफ नआएसम्म सदन चल्न नदिने निर्णय गरेको थियो । कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा गत बिहीबार बाँकेको सीतापुरमा भएको कार्यक्रममा जिल्ला सभापति किरण कोइराला लगायत नेता कार्यकर्तामाथि मञ्चमै आक्रमण भएको थियो । आक्रमणबाट सभापति कोइरालाको हात भाँच्चिएको छ भने केही कार्यकर्ता घाइते भएका थिए ।  


प्रतिक्रिया