भारतका पूर्व राष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

श्रावण २६, २०७७ | नयाँदिल्ली

भारतका पूर्व राष्ट्रपति प्रवण मुखर्जीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मुखर्जी आफैले ट्वीट गर्दै त्यसको जानकारी गराउनु भएको हो ।

पूर्व राष्ट्रपति मुखर्जीले ट्वीटमा लेख्नु भएको छ, ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो ।’  

पूर्व राष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड–१९ को परीक्षण गराउन समेत आग्रह गर्नु भएको छ । पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । आइतबार मात्र ६२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । 

थपिएका संक्रमितसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या २२ लाख नाघेको छ । विश्वमा कोरोना भाइरसबाट अति प्रभावित मुलुहरुमध्ये भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छन् । 

तर, पछिल्ला चार दिन यता भारतमा संक्रमणको दर अमेरिका र ब्राजिलको भन्दा पनि बढी देखिएको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४४ हजार ३ सय ८६ जनाको मृत्यु भइसकेको छ । 



प्रतिक्रिया