चीन र अमेरिकाबीचको सम्बन्धमा फेरि दरार

श्रावण २६, २०७७

– अमेरिकी एक उच्च अधिकारीले ताइवानको भ्रमण गरेपछि चीन र अमेरिकाबीचको सम्बन्ध फेरि चिसिएको छ । अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स अजरले ताइवानको भ्रमण गरेपछि वासिङटन र बेइजिङबीचको सम्बन्धमा फेरि दरार आएको हो । सन् १९७९ पछि ताइवानमा अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो । चीनले एक चीन नीति अनूरुप ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ । चीनले ताइवानसंग कुनै पनि मूलुकले स्वतन्त्र द्विपक्षिय सम्बन्ध नबढाओस् भन्ने चाहन्छ । 

ताइवानको भ्रमणका क्रममा अमेरिकी स्वास्थ्य मन्त्री अजरले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा ताइवान सरकारले सराहनीय काम गरेको भन्दै तारीफ गर्नु भएको थियो । चीन र संयुक्त राष्ट्र संघले मान्यता नदिएका कारण ताइवान विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्र बन्न पाएको छैन । ताइवान सरकारले डिसेम्बर ३१ मा कोभिड १९ संक्रमणका बारेमा सूचना माग गर्दा डब्लुएचओले बेवास्ता गरेको बीबीसीले जनाएको छ । सन् १९७९ मा चीनको समर्थन गर्दै अमेरिकाले ताइवानसंगको सम्बन्ध तोडेको थियो । 

पछिल्लो समय चीनसंगको सम्बन्ध चिसिन थालेपछि गणतान्त्रिक मूलुक ताइवानसंग सम्बन्ध बढाउँदै अमेरिकाले आफ्ना हतियार समेत विक्रि गर्दै आएको छ । यसअघि चीन र अमेरिकाबीच व्यापार संघर्षका कारण दुई देश बीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो ।  


प्रतिक्रिया