रुसका विपक्षी नेता नवेल्नीको स्वास्थ्यमा सुधार

भाद्र २२, २०७७

रुसका विपक्षी नेता एलेक्सी नवेल्नीको स्वास्थ्यमा सुधार आएको छ । जर्मनीको वर्लिनस्थित एक अस्पतालमा उपचाररत नवेल्नी कोमाबाट बाहिर आएको अस्पताललाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । 

नवेल्नीलाई रुसबाट साइबेरिया जाने क्रममा पेय पदार्थमा नोविचोक नर्व एजेन्ट नामक विष दिएर हत्या कोशिश गरिएको थियो । ४४ वर्षिय नवेल्नीको जहाजमै रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि रुसको ओम्स्क शहरमा आपतकालिन अवतरण गराइएको थियो । 

नवेल्नीलाई दिइएको विषले दीर्घकालिन प्रभाव पर्न सक्ने चिकित्सकले बताएका छन् । नवेल्नीका समर्थकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा विष दिइएको आरोप लगाउँदै आएका छन् । राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले सो आरोपको खण्डन गर्नु भएको छ । 

सन् २०१८ मा बेलायतमा पूर्व रुसी जासुस सर्गेई स्क्रीपल र उनकी छोरीलाई पनि नोविचोक नर्व एजेन्ट विष दिइएको थियो । नवेल्नी भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा रुसमा प्रख्यात छन् । उनको नेतृत्वमा राष्ट्रपति पुटिन र पुटिन प्रशासनको विरुद्धमा प्रदर्शन समेत हुँदै आएको छ । 


प्रतिक्रिया