जी २० को १५औं शिखर सम्मेलन रियादमा हुने

आश्विन १२, २०७७

जी २० का नेताहरुको १५ औं शिखर सम्मेलन नोभेम्बर २१ र २२ मा साउदी अरेबियामा हुने भएको छ । रियादमा हुने सम्मेलन कोरोना महामारीका कारण भर्चुअल रुपमा आयोजना हुने जी २० साउदी सचिवालयले जनाएको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

 विश्वको सबै भन्दा धेरै तेल निर्यातकर्ताका रुपमा स्थान बनाउन सफल साउदीले यस पटकको जी २० सम्मेलन आयोजना गर्ने भएको हो । सन् २०१८ मा पत्रकार जमाल खस्सोगीको हत्या र यमन युद्ध लगायतका विषयमा साउदीले पछिल्लो समय आलोचना खेपीरहेको छ । 

जुलाईमा शल्यक्रिया गराएका साउदी राजा सलमानले शिखर सम्मेलनको अध्यक्षता गर्ने छन् । साउदी नेताहरुले विश्वको अर्थव्यवस्थामा साउदीको अग्रणी भूमिका रहेको दाबी गर्ने गरेका छन् । कोरोना संक्रमण शुरु भएयता जी २० का अधिकांश बैठक भर्चुअल रुपमा भएका छन् । 

सम्मेलनमा महामारीका क्रममा भेटिएका कमीकमजोरीहरुलाई सम्बोधन गरेर भविष्यको आधार शिला खोज्दै जीवनको जर्गेनालाई जोड दिने सचिवालयले जनाएको छ । जी २० युरोपियन युनियन र १९ वटा शक्तिशाली मूलुकका सरकार, केन्द्रीय बैंक गर्भनरहरुको अन्तर्राष्ट्रिय फोरम हो ।


प्रतिक्रिया