प्रदेश सरकारले सम्मानमा पनि पक्षपात गर्‍यो : सागका प्रशिक्षक

श्रावण १, २०७७ | मोरङ

प्रदेश १ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलका प्रशिक्षकलाई सम्मान नगरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् । 

ह्याण्डबल खेलका महिला टिमका प्रशिक्षक उदयपुरकी बिन्दा थापाले प्रदेश सरकारले सम्मानमा खेलाडी र प्रशिक्षकबीच विभेद गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । ‘प्रदेश सरकारले खेलाडीसँगै प्रशिक्षकलाई राखेर एउटा प्रमाण पत्र दिएर सम्मान गर्दा सबैको मनोबल बढ्ने थियो,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको यो कामले खेलाडी र प्रशिक्षकबीच नै सम्बन्ध बिगार्ने भयो ।’

पदक जितेपछि खेलाडीले पुरस्कार पाउँछन् भने प्रशिक्षकले किन मिहिनेत गर्ने भन्ने अवस्था सिर्जना गर्ने छुट कसैलाई नभएको थापाको भनाई थियो । ‘प्रदेश सरकारले खेलाडीको अगाडी प्रशिक्षकलाई डोमिनेट गर्ने काम गरेको छ,’ उहाँले भन्नुभयो, ‘प्रशिक्षक बिना खेलाडीले खेल्न सक्छ ?’

यस्तै, क्रिकेट खेलका प्रशिक्षक मोरङका प्रदिपराज पाण्डेले कुनैपनि खेलमा सुरुवातदेखि पदक प्राप्त गर्ने अवस्थासम्म लग्नेमा प्रशिक्षकको प्रमुख भूमिका हुने गरेको बताउनुभयो । ‘प्रशिक्षक बिना खेलाडीले सफलता हात पार्न सक्दैन त्यसैले खेलाडी र प्रशिक्षकलाई सम्मानमा विभेद गर्नु उचित होइन,’ उहाँले भन्नुभयो, ‘खेलाडी र प्रशिक्षक सिक्काका दुई पाटा हुन, अलग हुन सक्दैन । तर प्रदेश १ सरकारबाट अलग गर्ने प्रयास भयो ।’

प्रशिक्षक पैसाको भोको होइन तर खेलाडीसँगै सम्मानको भोको हुने गरेको पाण्डेको भनाई थियो । सागमा प्रदेश १ का पदक विजेता खेलका १४ जना प्रशिक्षक छन् । उनीहरुले सम्मानमा विभेद गरेको भन्दै प्रदेश सरकारको आलोचना गरेको छन् ।

प्रदेश १ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई बुधबार पुरस्कृत गरेको थियो । सागमा ९८ वटा पद विजेता प्रदेश १ का ८८ जना खेलाडीलाई प्रदेश सरकारले ८० लाख रुपैयाँ प्रदान गरेर पुरस्कृत गरेको हो । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उनीहरुलाई पुरस्कृत गरेका हुन् । संघीय सरकारले स्वर्ण जितेका खेलका प्रशिक्षकलाई ५ लाख, रजत पदक जित्ने खेलका प्रशिक्षकलाई ३ लाख र कांस्य पदक जित्ने खेलका प्रशिक्षकलाई २ लाख पुरस्कार दिएको थियो । 

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्द कार्कीले सागका पदक विजेतालाई सम्मान गर्ने विषयमा सम्पूर्ण निर्णय प्रदेश सरकरले गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बजेट निकासा गरेको बताउनुभयो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले सो विषयमा कुनै प्रतिक्रिया दिनु भएन । 

सम्बन्धित समाचार :
* प्रदेश १ सरकारद्वारा सागका पदक विजेता पुरस्कृत 


प्रतिक्रिया