आईपीएलमा दिल्लीको लगातार दोस्रो जित

आश्विन १०, २०७७ | काठमाडौं

दिल्ली क्यापिटल्सले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा लगातार दोस्रो जित निकालेको छ । गएराति चेन्नई सुपर किंग्सलाई ४४ रनले हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

दिल्लीले प्रस्तुत गरेको १ सय ७६ रनको चुनौतीसहित ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो । फाफ डु प्लेसीसले ४३, केदार जादवले २६ र महेन्द्रसिंह धोनीले १५ रन बनाएपनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन् । दिल्लीका कासागो रावाडाले ३ तथा एनरिच नोर्टजेले २ विकेट लिए । अक्सर पटेलको नाममा एक विकेट रह्यो । चेन्नईका एक ब्याट्सम्यान रन आउट भएका थिए ।

यसअघि दुबई ईन्टरनेशनल क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेट गुमाएर १ सय ७५ रनको सम्मानजनक योगफल तयार पारेको थियो । पृथ्वी शाले सर्वाधिक ६४ रन बनाएको दिल्लीको ईनिङसमा रिषव पन्तले ३७ र शिखर धवनले ३५ रनको योगदान गरे । कप्तान श्रेयस ऐरले २६ रन जोडे । चेन्नईका पियुस चावलाले २ तथा साम कुरानले एक विकेट लिए ।

चेन्नईबिरुद्धको खेलमा पनि दिल्लीले नेपाली लगस्पिनर सन्दिप लामिछानेलाई बेञ्चमै राखेको थियो । आईपीएलको आठौं खेलमा आज सनराईजर्स हैदरावाद र कोलकत्ता नाईट राईडर्स प्रतिस्पर्धा गर्नेछन् ।     


प्रतिक्रिया