मिस पूर्वाञ्चलको उपाधि रिजुलाई

पुस ७, २०७६ | सुनसरी

बाहिर लुगलुग कमाउने चिसो स्याँठले जाडो भइरहेको बेला शनिबार मध्यराती मुख्य निर्णायक बरिस्ठ गायक दीप श्रेष्ठले धरानसभागृह भित्र १८ बर्षीया रिजु भट्टराईलाई प्रश्न गरे, ‘नेपाल भ्रमण बर्ष २०२० सफल हामीले बनाउन गर्नुपर्ने महत्वपूर्ण पक्ष के होला ? ’नेपाल आइस मिस पुर्वाञ्चलको १० औं संस्करणको मंचको वीचमा वनपिस ड्ेरसमा माइक समाएर उभिएकी रिजुले जवाफ पर्खिरहेका गायक श्रेष्ठ तिर हेरेर भनिन्, ‘मेरो बिचारमा नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सबभन्दा महत्वपुर्ण कुरा भनेको आफुलाई सुधार्नु हो । 

हामी हिमाल पहाड वा तराइ जहाँको भएपनि पर्यटनलाई प्रबद्र्धन गर्न आ–आफ्नो कर्तब्य पालन गर्न भुल्नु हुदैन । मलाई विश्वास छ परिवर्तन भन्ने कुरा आफै भित्रबाट आउने गर्दछ । तसर्थ पर्यटन प्रवद्र्धन गर्न हामी फुटेर होइन एकजुट भएर बलियो भएर अघि बढ्नु महत्वपुर्ण पक्ष हो ।’ अन्तत: यिनै तर्कपुर्ण जवाफका कारण हिजो मध्यरातसम्म चलेको १० औं नेपाल आइस मिस पूर्वाञ्चल सौन्दर्य प्रतियोगितामा १९ प्रतिश्पर्धीलाई पछि पार्दै रिजुले उपाधि जितिन् । सङ्गीत, चित्रकलाका साथै गायनमा रुची राख्ने मोरङ पथरीकी रिजुले उपाधीसंगै नगद दुइ लाख रुपैयाँको चेक हात पारिन् ।

 उनलाई ओम शान्ति कम्पनी लिमिटेड, कोरियाका अध्यक्ष गंगाराज राईले चेक हस्तान्तरण गर्नु भएको थियो । वाईवाई मिस पर्सनालिटीको सब टाइटल समेत हातपारेकी उनले सिजी ब्रुअरीका सिनियर म्यानेजर मनिष सिंहबाट हंगकंग टुरको टिकट प्राप्त गरिन् । 

उनलाई मंचमै पुर्वको पर्यटकीय स्थल भेडेटारको पर्यटन सद्भावना दुत घोषणा गरिएको थियो । यसैबर्षको मिस पथरी शनिश्चरेको उपाधी विजेता समेत रहेकी रिजुलाई मिस पुर्वान्चल २०१८ पुजा श्रेष्ठले ताज पहिराइदिएकी थिइन् । 

सो प्रतियोगितामा नेपाल आईस मिस मल्टी मिडिया र डिभाइन मिस फोटोजेनिकको सब टाइटलसमेत जित्न सफल खोटाङकी एन्जल राई फस्र्ट रनरअप हुँदै नगद १ लाख रुपैयाँ हात पारिन् । उनलाई भेडेटार एडभेन्चरका निर्देशक किरण राईले नगद १ लाखको चेक हस्तान्तरण गरेका थिए । सब्सरा मिस इन्टलेक्चुअलको सब टाइटल समेत जित्न सफल सेकेन्ड रनर अप धरानकी सिम्रन लिम्बु भईन् । 

उनलाई युएन नवोदय कलेजका बिएचएम संयोजक गगन श्रेष्ठले नगद पचास हजारको चेक हस्तान्तरण गरेका थिए । धनकुटाकी रेश्मा राईले बराह मिस पब्लिक चोइस र फेस अफ डिभाइनको सब टाइटल समेत जितिन् । 

पेप्सी मिस ट्यालेन्टको उपाधि धरानकी अनुपमा बस्नेत, गोर्खा डिपार्टमेन्ट मिस बेस्ट कम्प्लेसनको उपाधि इटहराकि बिपना तामाङ, मिलान्ज बेस्ट वाकको उपाधि सुष्मिता बराईली र मिस फ्रेन्डशिपको टाइटल धरानकी स्वेता पोख्रेलले चित्त बुझाए । आयोजकले प्रत्येक टाइटल बिजेतालाई नगद १५ हजार पुरस्कार प्रदान गरेको थियो । 

सिल्भर इन्टर टेनमेन्टद्धारा आयोजित नेपाल आईस मिस पूर्वाञ्चलको दसौ संस्करणको निर्णायकहरुमा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ, नायिका मेरुना मगर, फेशन पत्रकार तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, डा. सरुन कोइराला, ओम शान्ति कम्पनिका अध्यक्ष गंगाराज राई, बराह ग्रुपका कार्यबाहक प्रमुख गंगा कालिकोटे, मिस पुर्वान्चल २०१६ कृतिका गिरि, पत्रकार रंगकर्मी कवि गोपाल देवान रहेका थिए ।


प्रतिक्रिया