"लकडाउन लकडाउन संसारै शट डाउन " !

चैत्र २१, २०७६ | काठमाडौं

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९) का कारण संसारभरका कयौँ मुलुकसँगै नेपाल पनि लकडाउनमा छ । अधिकाश कलाकारहरु यतिबेला फुर्सदिला बनेका छन् । उनीहरु दैनिकजसो आफ्ना स्टाटस, आफ्ना गतिविधी र परिवारसँग बिताएका पलहरुको फोटो सामाजिक सञ्जालमा पोष्ट गरिरहेका हुन्छ्न् । हुन पनि असामान्य यस परिस्थिति सिर्जनाको लागि उति अनुकुल नहुने भएर पनि होला एकाध बाहेक अन्य सर्जकले आफ्ना सिर्जना ल्याउन सकेका छैनन् ।

तर, हाँस्य कलाकार एवं गायक यमन श्रेष्ठले भने फुर्सदको यो समय सदुपयोग गर्दै समसमायिक गीत सार्वजनिक गरेका छन् । लकडाउन बोलको हाँस्य जनरामा रहेको यो गीतको शब्द उनका पिता वरिष्ठ हाँस्य व्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र स्वम् यमनले लेखेका हुन् । कोरोना भाइरसको संक्रमणको रोकथाम र सम्भावित जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनको सबै नागरिकले पालना गर्नुपर्ने सन्देश गीतले बोकेको छ ।

'मानिसहरु महामारीको जोखिममा पनि अझै सचेत छैनन, लकडाउन हाम्रै सुरक्षाको लागि हो भन्ने बुझेकै छैनन् ' , यमनले भने, हाम्रै वरपर अझै मानिसहरुको भीडभाड उस्तै छ, मानिसहरु समुह नै बनाएर मर्निङवाक गइरहेका देखिन्छन् ।' उनले भने, 'हामीले के गर्नु हुन्छ, के गर्नु हुन्न भन्ने कुरा बुझाउनु जरुरी छ र मैले पनि आफ्नो तर्फबाट केही गरुँ न त भनेर गीतकै माध्यमबाट जनचेतना फैलाउने प्रयास मात्रै गरेको हुँ ।'

घरमा अनावश्यक मानिस बोलाउने, भोजभतेर, पूजा पाठ लगायतका ठूला कार्य र मानिसहरु जम्मा हुने किसिमका गतिविधी गर्दा पनि जोखिम बढ्छ भन्ने कुरालाई समेत सबैले ध्यान दिनुपर्ने उनले बताए । 'ज्यान रहे त पछि गरुला नि, मोज मज्जा भोज भतेर !' उनले भने 'अहिले हामी सबै सचेत हुनैपर्छ यही कुरा बुझाउन चाहेको हुँ ।' गीतमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीहरुलाई यमनले प्रस्तुत गरेका छन् ।

यमनकै स्वर रहेको गीतको भिडियोको निर्देशन एवं छायांकन गायिका सराना श्रेष्ठले गरेकी हुन् । सराना यमनकी बहिनी समेत हुन् । गीतको भिडियोमा यमनसँगै उनकी पत्नी रिंकु ब्रजाचार्य श्रेष्ठ फिचर्ड छिन् ।

सुनाकोठीस्थित आफ्नै घरमा छायांकन गरेको यो गीत श्रेष्ठ परिवारको तर्फबाट जनचेतना फैलाउन तयार पारिएको यमनले बताएका छन् । यसअघिदेख नै यमनले विभिन्न विषयमा जनचेतनामुलक टेलिफिल्म, हाँस्य सामाग्री एवं गीत सार्वजनिक गर्दै आएका छन् । 



प्रतिक्रिया