हिमपातको असर : मनास्लु पदमार्गका होटल बन्द

मनाङ र गोरखाको सीमावर्ती क्षेत्र लार्के भञ्ज्याङ पास गरेर पुगिने मनाङको भीमथाङस्थित होटलहरु हिउँको घेराभित्र । तस्बिर: कान्तिपुर । 

पुस २, २०७६ | लमजुङ

गोरखाबाट लार्के भञ्ज्याङ (५,१०६ मि.) पास गरेर मनाङ हुँदै चक्रीय अन्नपूर्ण पदमार्गमा जोडिने मनास्लु पदमार्गका होटलहरु बन्द भएका छन् । हिमपात भएपछि होटलका सञ्चालन सामग्रीको व्यवस्थापन गरी गाउँ झरेका छन् ।

 हिमपातपछि पदमार्गमा पर्यटक नहिँड्ने र बढी हिमपात भएमा होटलहरु पुरिन सक्ने भन्दै उनीहरु सुरक्षित स्थानतर्फ आएका हुन् । होटल भएका ठाउँमा अत्याधिक चिसो हुने भएकाले पनि उनीहरु यतिबेला होटलमा बस्न सक्दैनन् । बन्द भएका होटल अब ३ महिनापछि मात्रै खुल्ने सञ्चालकहरुले बताएका छन् ।

गोरखा र मनाङको सीमावर्ती क्षेत्र लार्के भञ्ज्याङ पदयात्राको सौखिनका लागि गन्तव्य हो । काठमाडौंदेखि गोरखाको आरुघाट भएर आठखेत हुँदै पहिलोदिन सोती खोलासम्म सवारी साधनमा मनास्लु पदमार्गको प्रवेशद्धार पुगिन्छ । सोतीखोलाबाट माछाखोला, जगत, फिलिम, डेङ, नम्रुङ, सामागाउँ (३,५०० मि.) पुगिन्छ । सामागाउँमा एक दिन थकाई मारेर सम्दो (३,६९० मि.) धर्मशाला (४,४४० मि.) हुँदै लार्के पास भएर मनाङतर्फ प्रवेश हुन्छ ।

धर्मशालाबाट मनाङको भीमथाङ (३,७०० मि.), तिल्चे, च्याम्चे हुँदै लमजुङको बेंसीसहर भएर काठमाडौं पुगिन्छ । यो पदमार्ग पर्यटकले १४ देखि १६ दिनसम्म टुंग्याउँछन् । पर्यटकीय सिजनमा दैनिक विदेशी सहित डेढ सय पर्यटक आउने उक्त पदमार्गमा गन्तव्य (लार्के पास) नजिकैका होटलहरु बन्द भएका छन् । भीमथाङका होटल व्यवसायी प्रशान्त गुरुङले भीमथाङका ८ वटा होटल केही दिनअघि परेको हिमपातपछि बन्द भएको बताउनुभयो ।

उहाँका अनुसार हिमपात भएपछि गोरखातर्फका सम्दो, धर्मशाला, लार्केफेदीका होटलहरु समेत बन्द भएका छन् । धर्मशालामा ३ र लार्के फेदीमा ३ वटा होटल छन् । भीमथाङ मुनी मनाङतर्फका ३ वटा होटल पनि बन्द भएको उहाँले बताउनुभयो ।


पर्यटन व्यवसायी तिल्चे मनाङका अध्यक्ष पुष्पबहादुर गुरुङले ठूलो हिमपातका कारण मनास्लु पदमार्गका होटलहरु बन्द भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिउँ तिल्चे–धारापानी सम्मै परेको छ । माथि भीमथाङतिर होटलको आधाआधी जति हिउँ जमेको छ । बाटो कहाँ हो भनेर पत्ता लगाउन सकिने अवस्था छैन ।’

उहाँका अनुसार पर्यटकीय मौसममा दैनिक ६० देखि ७० जनासम्म पर्यटक मनास्लु पदमार्ग घुम्न गोरखाबाट लार्के पास भएर आउँथे । नेपाली पर्यटक यतिकै हाराहारी र कहिलेकाहीं विदेशी भन्दा धेरै आउँथे । हिमपातपछि अहिले सुनसान छ ।

सन् २०१८ मा मनास्लु पदमार्गमा ७ हजार ६ सय ४० पर्यटक भित्रिएका थिए । सन् २०१७ मा ६ हजार ९ सय २८ पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को तथ्यांक छ । चालू वर्षमा गएका वर्षभन्दा बढी आएको व्यवसायीले बताएका छन् ।

मनास्लु क्षेत्रमा जर्मन र फ्रान्सका पर्यटक धेरै आउने गरेका छन् । यस्तै, नेदरल्यान्ड, ब्राजिल, स्पेन, अर्जेन्टिना, जोर्डन, फिनल्यान्ड, उरुग्वे, पोल्यान्ड, जापान, चीन, टर्की, अमेरिका र साउथ अफ्रिकाका नागरिक समेत भ्रमणमा आउने गरेका छन् ।


प्रतिक्रिया