विराटनगर भन्सारको राजश्व असूली ४३ प्रतिशतले घट्यो

श्रावण १, २०७७ | मोरङ

आर्थिक वर्ष २०७६/७७ मा मोरङको विराटनगर भन्सार कार्यालयको राजश्व असूली ४२ दशमलव ८३ प्रतिशतले घटेको छ । लकडाउनको बेला आयात निर्यात नरोकिए पनि राजश्व असूलीमा भने गिरावट आएको हो । लक्ष्य अनुसारको राजश्व असूली नभएको र कोरोना महामारीको प्रभावका कारण प्रदेश १ सरकारले चालू आर्थिक वर्षको विराटनगर भन्सार कार्यालयको लक्ष्य घटाएर ४६ अर्ब १४ करोड ९५ लाख ९० हजार तोकेको छ ।

विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्षमा प्राप्त गरेको ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार रुपैयाँ राजश्व असूली लक्ष्यमा २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार मात्रै संकलन गरेको थियो । भन्सार महसुल असूलीको २१ अर्ब २० करोड १० लाख लक्ष्य प्राप्त गरेकोमा १२ अर्ब ४ करोड २९ लाख १५ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।

यस्तै, मूल्य अभिवृद्धि कर असूलीको २५ अर्ब ९३ करोड ५६ लाख २२ हजार लक्ष्य पाएकोमा १४ अर्ब ७६ करोड ७४ लाख ४७ हजार रुपैयाँ मात्रै संकलन भएको छ । यस्तै, अन्त: शुल्क असूलीको २ अर्ब ५० करोड ९४ लाख २४ हजार लक्ष्य प्राप्त गरेकोमा १ अर्ब ५५ करोड ३० लाख ६७ हजार रुपैयाँ मात्रै संकलन भएको भन्सार कार्यालयको तथ्यांक छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सुनिता पौडेलले लक्ष्य अनुसारको राजश्व कुनैपनि महिनामा असूली हुन नसकेको बताउनुभयो । ‘लकडाउनको अवधिमा आयात निर्यात नरोकिए पनि राजश्व असूली प्रभावित भयो,’ उहाँले भन्नुभयो, ‘चैतमा लक्ष्यको ३७ दशमलव ८२ प्रतिशत १ अर्ब ४१ करोड ७३ लाख ३१ हजार रुपैया, बैसाखमा लक्ष्यको २६ दशमलव ७० प्रतिशत १ अर्ब ६ करोड ३२ लाख ५१ हजार रुपैयाँ मात्रै असूली भयो ।’

जेठमा लक्ष्यको ५० दशमलव ३६ प्रतिशत २ अर्ब २३ करोड ८५ लाख १९ हजार र असारमा लक्ष्यको ५६ दशमलव ५६ प्रतिशत २ अर्ब ३४ करोड ६२ हजार रुपैया असूली भएको पौडेलले बताउनुभयो ।

विराटनगर भन्सार कार्यालय प्रमुख शिवप्रसाद भण्डारीले गत आर्थिक वर्षमा माघ १६ गतेदेखि एकीकृत जाँच चौकीबाट आयात निर्यात सुरु भएपछि राजश्व असूली दर बढ्दै गएको बेला लकडाउनका कारण समस्या भएको बताउनुभयो । 

‘लकडाउनको अवधिमा अर्थतन्त्र नै ठप्प भयो,’ उहाँले भन्नुभयो, ‘लकडाउनले बजार, पसल, उद्योग चल्न पाएन र सर्वसाधारण घरबाट निस्किन समेत नपाएकाले खरिद बिक्री नै भएन जसको मार राजश्व असूलीमा पर्‍यो ।’

लकडाउन अघि जोगबनीको जामले उद्योगी व्यापारीहरुले सहजताका लागि अन्य नाकाबाट कारोबार गरेकाले पनि राजश्व असूलीको लक्ष्य प्रभावित भएको भन्सार कार्यालय प्रमुख भण्डारीको भनाई थियो । 


प्रतिक्रिया