सुगर मिल सञ्चालनको माग गर्दै किसान उखु आन्दोलित

आश्विन १२, २०७७ | रौतहट

रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल सञ्चालनको माग गर्दै किसानहरु आन्दोलित भएका छन् । मिल सञ्चालन र उखुको बक्यौता भुक्तानीको माग गर्दै विगत तीन दिनेदिख संघर्षमा उत्रिएका उखु किसानले सोमबार गौर–चन्द्रनिगाहपुर सडकखण्ड बन्द गराएका छन् । बन्दका कारण सदरमुकाम गौर जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । 

वर्षेनी घाटा बेहोर्नु परेको भन्दै गोल्छा समूहले सञ्चालन गर्दै आएको सो सुगर मिल बन्द गरिसकेको छ । विगत २६ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको मिल बन्द हुँदा ३ सय २५ जना मजदुरको रोजगारी गुमेको छ । कम्पनी सञ्चालक समितिको गत साउन ९ गतेको निर्णयले विधिवत रुपमा मिल बन्द गरेको हो । 

उखुको बक्यौता भुक्तानीमा आलटाल गर्दै आएको मिल बन्द भएपछि किसानहरु थप समस्यामा परेका छन् । किसानको उखुको रकम, कर्मचारीको तलाब भत्ता उपलब्ध गराउन समेत समस्या भएको भन्दै मिल सञ्चालकले चल–अचल सम्पति बिक्री गरेर भएपनि भुक्तानी गर्ने जनाएको छ । 

अहिलेसम्म मिलले २ अर्ब १७ करोड ७५ लाख ५८ हजार रुपैयाँ घाटा बेहोरेको सञ्चालकले जनाएको छ । २०४९ सालमा शिलान्यास भई २०५१ सालबाट मिलले उखु क्रसिङ थालेको थियो । त्यसै बेलादेखि जिल्लाका किसानहरु खुसी थिए । बारा, पर्सा, रौतहटका किसानले एक सिजनामा ३० लाख क्वीन्टलसम्म उखु क्रसिङ गर्ने मिलको लक्ष्य थियो । 

२४ सै घण्टा सञ्चालन हुनु पर्ने मिल विभिन्न कारणले बन्द हुन पुग्यो । मिल स्थापना भएदेखि अहिले सम्म जिल्लामा १२ हजार उखु किसान रहेको संघले जनाएको छ । नगदे बालीको रुपमा रहेको उखु उधारोमा किन्ने गरेको मिलले किसानलाई २०७१ साल देखिको झण्डै ३० करोड रुपैयाँ भन्दा बढी भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक सघ रौतहटले जनाएको छ । 

यस्तै, अवकाश प्राप्त कर्मचारीहरुको ५० लाख भन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको छ । आफूहरुको बक्यौता भुक्तानी नगरेका कारण संघकै नेतृत्वमा उखु किसान सहित मिलमा कार्यरत कर्मचारीहरु सञ्चालन र भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । मिलमा सिजनल, रेगुलर र करार गरी ३ सय २५ जना कर्मचारीहरु कार्यरत छन् । उखु उत्पादक संघ रौतहटका किसान र मिलमा कार्यरत मजदुर, कर्मचारीको हितलाई बेवास्ता गर्दै आफूखुसी मिल बन्द गर्ने निर्णय गरेको भन्दै जिल्ला संघ विरोधमा उत्रेको हो ।

संघको रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद प्रसाद यादवले किसानको उखुको बक्यौता राखेर मिल सदाको लागि बन्द भएको भन्नु दुर्भाग्य रहेको सुनाउनुभयो । ‘मिल सञ्चालनको बेलादेखि किसानले सहयोग गर्दै आएकै हो । मिल मालिक र किसानबीचको सम्बन्ध पनि सुमधुर नै थियो, उहाँले भन्नुभयो, ‘जिल्लाका किसान र मिलका कर्मचारीलाई बिचल्लीमा पारेर बन्दको नाटक गरेको छ । यो कदापि सह्य हुँदैन ।’ 

मिलमा कार्यरत कर्मचारीले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । १८ महिना देखि संचयकोष समेत व्यवस्थापन पक्षले पठाएको छैन । मिलबाट अवकाश प्राप्त कर्मचारीले पाउनु पर्ने उपदान समेत नदिएपछि कर्मचारीहरु पनि किसानको आन्दोलनमा सहभागी भएका छन् ।


प्रतिक्रिया