चन्दा असूल्दै गर्दा पक्राउ परे चन्द समूहका कार्यकर्ता

आश्विन १, २०७७ | काठमाडौं

जबरजस्ती चन्दा उठाएको अभियोगमा प्रहरीले कास्कीबाट २ जना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय रविन केसी भनिने ध्वजबहादुर रावत र २२ वर्षीय रामकुमार डाँगी छन् । 

रावत चन्द समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला कमिटी सदस्य तथा डाँगी साधारण सदस्य रहेको प्रहरीले जनाएको छ ।

स्थानीय ब्यापारीबाट जबरजस्ती चन्दा असूली गरिरहेको अवस्थामा उनीहरुलाई पोखरा महानगरपालिका–६ हल्लन चोकबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उनीहरुको साथबाट १ लाख रुपैयाँ, ४ थान मोबाईल सेट, मोटरसाईकल र चन्दा उठाउन प्रयोग गरिएको एक थान नगदी रसिद फेला परेको पनि एसपी श्रेष्ठले बताउनुभयो । रावत उदयपुरको त्रियुगा नगरपालिका–७ मोतिडाँडा घर भई हाल काठमाडौ मनमैजु बस्ने खुलेको प्रहरीले जनाएको छ । 

यस्तै, डाँगी रोल्पा गंगादेवी गाउँपालिका–२ घर भई काठमाडौं गोगंबु बस्दै आएका खुलेको छ । उनीहरुविरुद्ध चन्दा ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाईएको एसपी श्रेष्ठले बताउनुभयो ।  


प्रतिक्रिया