३२५ ग्राम ब्राउन सुगरसहित दाङबाट एक पक्राउ

ब्राउन सुगरसहित पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय दाङमा सार्वजनिक गरिंदै । तस्बिर : दुर्गालाल केसी/रेडियो कान्तिपुर । 

आश्विन ५, २०७७ | दाङ

लागूऔषध ब्राउन सुगरसहित दाङको लमहीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ भट्टी निवासी ३५ वर्षीय महिन अन्सारी रहेका छन् । 

अन्सारीलाई ३ सय २५ ग्राम ब्राउन सुगर सहित लमहीबाट प्रहरीले पक्राउ गरेको हो । ब्राउन सुगरको कारोबार भईरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक राजनकुमार गौतमको नेतृत्वमा गएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट अन्सारीलाई पक्राउ गरेको डीएसपी सुमित खड्काले बताउनुभयो ।

नेपालगञ्जबाट दाङ प्रवेश गराउँदै गर्दा सो परिमाणको लागूऔषध बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताउनुभयो । कारोबारीको भनाईलाई आधार मान्दा सो ब्राउन सुगरको मूल्य करीब एक करोड रुपैयाँ बराबरको रहेको छ । अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया