चटपटेको निहुँमा बालिकाको हत्या

आश्विन ११, २०७७ | सुनसरी

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मिना राईको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कार्कीका अनुसार चटपटेको विषयमा भएको सामान्य विवादमा ती बालिकाको हत्या भएको हो । 

बालिकाको हत्यामा संलग्न स्थानीय १६ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न बालकको उमेर सानै भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन । घट्ना विवरण अनुसार मृतक बालिकाकी अभिभावक छोरीलाई घरैमा राखेर नजिकैको छिमेकीको घरमा धामी बसेको हेर्न गएको बेला चटपटे किन्न आएका बालकसँग विवाद भएको थियो ।

डीएसपी कार्कीले भन्नुभयो, ‘घट्ना शनिबार रातिको हो । चटपटे किन्न आएका बालिकाले रातको समय भएकाले चटपटे नभएको बताएपछि भनाभन भएको र १६ वर्षीय बालकले मिनाको टाउकोमा बोतलले प्रहार गरेका थिए । टाउकोमा बोटलले प्रहार गरेपछि भेष्ट र रुमालले घाँटीमा कसेर हत्या गरेर आफ्नै घरमा गएर सुतेको बयान दिएका छन् ।’ प्रहरीका अनुसार यौन दुव्र्यवहारसँग सो घट्ना सम्बन्धित छैन ।

प्रहरीका अनुसार मिनाका अभिभावक आइतबार बिहान २ बजे घर आएपछि मात्र छोरी मिनालाई मृत अवस्थामा फेला पारेका थिए । राति नै मिनाका अभिभावकले सूचना दिएपछि घट्ना स्थलमा प्रहरी टोली पुगेको थियो । मृत बालिकाको शव शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट लैला नामको कुकुर सहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो । पक्राउ परेका किशोरलाई मुलुकी अपराध (संहिता ऐन) २०७४ को ज्यान सम्वन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको र घटनाबारे थप अनुसन्धान भईरहेको डीएसपी कार्कीले बताउनुभयो । 


प्रतिक्रिया