नेकपामा अहिले देखिएको अवस्था युद्धविराम मात्रै हो :निरज आचार्य

भाद्र २१, २०७७

The Headliners | Journalist Pawan | 6 September 2020 | 21 Bhadra 2077

नेकपाका केन्द्रीय सदस्य निरज आचार्यले कार्यदलको सुझाव प्रतिवदेनपछिको पार्टीको अवस्था युद्धविराममात्रै भएको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै उहाँले सबै विषयको निरुपण गर्ने थलो महाधिवेशन भएकाले एकता महाधिवेशनमै पार्टीले लिने वैचारिक धारका बारेमा गहन छलफल हुने बताउनुभयो । हाललाई पार्टीभित्रको सन्तुलन मिलाउनका लागि केही सहमति र निर्णय भएपनि त्यो नै अन्तिम नहुने उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको बैठकले नैतिक प्रश्न खडा गरेपनि आन्तरिक विवाद मिलाउन अप्रिय निर्णय लिनुपर्ने आचार्यले उल्लेख गर्नुभयो । यसअघि पनि विभिन्न तहका चुनाव हारेका व्यक्तिहरुलाई राष्ट्रियसभामा लगिसकेकाले वामदेव गौतमकै बारेमा मात्रै धेरै बहस गर्नु औचित्यपूर्ण नहुने उहाँले बताउनुभयो ।

पार्टीमा विचार र उमेरले पनि युवा रहेकाहरु नेतृत्वमा आउन आवश्यक रहेको भन्दै उहाँले आगामी महाधिवेशनमा केही परिवर्तन हुनसक्ने आशा व्यक्त गर्नुभयो । नेतृत्व कसैले दिएर मात्रै स्थापित नहुने भएकाले त्यसका लागि विचार मिल्नेहरुको समूह बनाउन जरुरी रहेको आचार्यले बताउनुभयो ।


प्रतिक्रिया