स्ट्रेस भयो ? ‘ब्रेक रुम’ आउनुस् !

रेडियो कान्तिपुर संवाददाता

श्रावण २३, २०७५ | अष्ट्रेलिया

— तपाईलाई स्ट्रेस भयो वा केही कुरामा तनाव सृजना भयो ? के गर्नुहुन्छ ? चुप लागेर बस्नुहुन्छ, संगीत वा एकान्तको सहारा लिनुहुन्छ अथवा मेडिटेसन गर्नुहुन्छ ? तर अष्ट्रेलियाको सिड्नी, मेलबर्न लगायतका शहरमा भने गज्जबको उपाय निकालिइएको छ । ‘ब्रेक रुम’ जानुस । जे जे सामान फुटाउन राखिएको छ ।  तोड्नुस, फुटाउनुस र आफुलाई हलुका बनाउनुस् ।

यो ‘ब्रेक रुम’ मा फुटाउनका लागि फर्निचर, भाँडाकुडाका साथै बोतल, पुराना टिभी, प्रिन्टर लगायतका सामानहरु राखिएको हुन्छ । सुरक्षित कपडा लगाएर बेस बल ब्याट लिएर सो कोठामा छिरेपछि तोकिएको समयभित्र ग्राहकले आफुलाई तोड्न र फुटाउन मन लागेका वस्तुहरु फुटाउन सक्छन् । यसले आफुमा भएको तनावलाई कम गर्न मद्दत पुग्ने दाबी गरिएको छ ।

यदी तनावबाट आफु पीडित नभए अरु कसैका लागि यस कामको लागि भौचर खरिद गरेर दिन सकिने प्रावधान समेत राखिएको छ । 

सिड्नी, मेलबर्न लगायतका शहरहरुमा केही समयअघि स्थापना गरिएको यो ‘ब्रेक रुम’ मा जान निश्चित रकम भने तिनुपर्ने हुन्छ । यसको स्थापनाकर्ताहरुले भने सो कोठामा जाने ग्राहकको सुरक्षाको लागि सोही अनुसारको पहिरन लगाउनुपर्ने लगायतका नियमहरु राखेका छन् ।

स्थानीय सञ्चारमाध्यमलाई एक सञ्चालकले आफुहरुसँग शिक्षक, वकिल, डाक्टर, बिद्यार्थी मात्र नभएर परिवार पनि साथै आउने गरेको बताएका छन् । सो कोठामा केही ब्यक्तिहरु फरक अनुभवका लागि आउने गरेका भएपनि केही ग्राहकहरु आफ्नो रिस र तनावलाई कम गर्न आउने गरेको उनले अनुभव सुनाएका छन् ।

यस किसिमको ‘ब्रेक रुम’ अहिलेसम्म पर्थ, सनसाईनकोष्टमा समेत खोलिएको छ । न्युनतम ३५ अष्ट्रेलियन डलर (करिब ३ हजार रुपैयाँ) खर्च लाग्ने यो कोठामा धेरै ग्राहकहरु भने महिलाहरु हुने गरेको जनाइएको छ । 

 


प्रतिक्रिया