कारागारभित्रै कैदीबन्दीले गरे स्वस्थानी पूजा

फाल्गुन ८, २०७५ | लमजुङ

विगतमा गरेका गल्ती र अपराधबाट उन्मुक्ति पाउन भन्दै लमजुङ कारागारका कैदीबन्दीले स्वस्थानी व्रत लिएका छन् । उनीहरुले मंगलबार कारागारभित्रै स्वस्थानीको साङये गरे । विगतमा गरेका गल्ती तथा अपराधबाट उनीहरुले अशान्तको महसुस गरेका छन् । तिनै असान्तलाई मनबाट पखाल्न उनीहरुले स्वस्थानी व्रत बसेको उनीहरुले बताएका छन् ।

कैदी र थुनुवा गरी करागारमा ७६ जना कैदीबन्दी छन् । उनीहरुमध्ये साङयेको दिन ३० जना कैदी बन्दीले व्रत बसेर पूजापाठ गरेका थिए । एक महिना व्रत भने ५ जना पुरुषले बसेका थिए । कैदी राजन पोखरेलले मनभित्रको विगतका गल्ती तथा अपराधको मोक्ष होस् भनी कारागारभित्रै व्रत बसेको उनले सुनाए । ‘हामी मनलाई शान्त बनाउन चहान्छौं । विगतका गल्ती र अपराध भुल्न चहान्छौं । चिताएको पाइएला या नपाइएला । मनमा शान्ति मिलेको छ’ उनले भने । 

दूधपोखरी गाउँपालिका १ दूधपोखरीका भरतप्रसाद भट्टराई, राईनास नगरपालिका १, बोराङका काशीनाथ न्यौपाने, राइनास भलायखर्कका राजन पोखरेल, दोर्दी गाउँपालिका ५, पाचोकका महेन्द्र गुरुङ र बेंसीसहर नगरपालिका २, मगरपात्लेका आशिष रानाले स्वस्थानीको व्रत वसेर दिनहुँ कथा वाचन गर्ने, सुने र अरुलाई पनि सुनाए । संगै पूजापाठ गरे ।

कथापाठ न्यौपाने र भट्टराइले गरे । ‘कारागारमा दिनदिनै स्वस्थानी वाचन हुन्थ्यो । सुन्नेले सुन्थे’ कैदीबन्दीका नाइके समेत रहेका आशिष रानाले भने । दक्षिणा उठाएर २८ हजार जम्मा गरेको र बचेको ५ हजार १ सय ५५ रुपैयाँ मानव सेवा आश्रामलाई दिएको उनले बताए । ‘पूजा सामग्री, धूपदीयोग, तरकारी तथा खीर, रोटी बनाउन २३ हजार खर्च भयो’ उनले भने ।

दैनिक पूजा गर्ने, कथा श्रवण गर्ने, फूलपाती–भेटी चढाउने, नैवेद्यप्रसाद ग्रहण गर्ने जस्ता सकरात्मक गतिविधिले कैदी, बन्दीमा सकारात्मक भावना र उर्जामा वृद्धि भएको कारागारका सूचना अधिकारी रमेश विकले बताउनुभयो । व्रतकथा र पूजा समापनको दिनसम्म आईपुग्दा महिला, पुरुष, विभिन्न जातजाति र धर्मका कैदी, वन्दीमा रचनात्मक र सिर्जनात्मक क्रियाकलाप देखिएको उहाँले बताउनुभयो ।

कैदी बन्दी स्वस्थानी व्रत बसेर पूजाआज गरेको नौलो घटना भएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जहाँ जस्तो अवस्थामा भएपनि मनलाई शान्त पार्नु राम्रो हो । पूजापाठपछि कैदीबन्दी खुसी देखिएका छन् ।’ 

डीएसपी यादव ढकालका अनुसार कैदीबन्दीले कारागारभित्रै जग्गे लगाएर पूजापाठ गरेको यो नौलो घटना हो । उहाँले भन्नुभयो, ‘यस्ता नौला कार्यले कैदी तथा थुनुवालाई हेर्ने समाजको दृष्टिकोण बदल्न सक्छ । समाज रुपान्तरणमा पनि टेवा पुग्न सक्छ ।’ 


प्रतिक्रिया