घाइते माकुरोलाई उद्दार गरेपछि...

जनावर सम्बन्धी संस्थाले गरेको सम्मानपछि एलिना वाल्स  

श्रावण १९, २०७७ | अष्ट्रेलिया

तपाईले यदि घरमा घाइते माकुरो भेट्नुभयो भने के गर्नुहुन्छ ? त्यो पनि शिकारी माकुरो जसले टोक्यो भने तपाई बिरामी समेत पर्न सक्नुहुन्छ ? यदि तपाईंको मन दयालु छ भने टिपेर घर बाहिर फ्याक्नु होला । नभए मार्नुहोला । तर, अष्ट्रेलियाकी एक महिलाले आफ्नै घरमा घाइते भेटिएको माकुरालाई उद्दार मात्र गरिनन्, उसले गुमाएको ६ वटै खुट्टालाई पुन: बढ्न सक्ने गरी केही सातासम्म रेखदेख गरेर तन्दुरुस्त बनाईन् । उनले निस्वार्थ रुपमा गरेको यही कामको लागि यहाँस्थित जनावरको हक अधिकारका लागि लड्ने संस्थाले सम्मानित समेत गरेको छ ।

उत्तरी क्युन्सल्याण्डको टाउन्सभिलमा बस्दै आएकी एलिना वाल्सले करीब एक महिनाअघि दुई वटा मात्र खुट्टा बाँकी भएको घाइते माकुरोलाई आफ्नै घरमा भेट्टाएकी थिईन् । ‘मलाई सुरुमा त अधिकांश खुट्टा गुमाईसकेको माकुरो बाँच्दैन जस्तो लागेको थियो । तर, मैले केही रिसर्च गर्दा माकुरोको खुट्टा पुन: पलाउन सक्ने थाहा पाएपछि बचाउन थालेकी थिएँ’ वाल्सले अष्ट्रेलियाली समाचार माध्यम एबीसीलाई भनिन् ।

उनले एक महिनासम्म सो घाइते माकुरोलाई आफ्नै हातले सानो काँटा जस्तो चम्चाले साना साङ्गलोलाई आहाराका रुपमा खुवाउने गरिन् । ‘म जनावरलाई माया गर्ने मान्छे भएपनि शिकारी माकुरो मेरो प्यारो थिएन् तरपनि मलाई उसको अवस्था देखेर दया लाग्यो र उसलाई सहयोग गरेको हुँ । उनको यही कार्यका लागि ’अष्ट्रेलियाको ठूलो मध्येको जनावार हकहितका लागि काम गरिरहेका संस्था पेटा ले ‘हिरो टू एनिमल’ अवार्डबाट सम्मानित गरेको छ ।

घाइते भेटिएको माकुरा पेग्गी र एक महिनाको रेखदेखपछि पुन: ६ वटा खुट्टा पलाएपछि । फोटो : एबीसी

जनावरलाई माया गर्ने उनले टारान्टुला माकुरो र बिच्छी घरेलु जनावरका रुपमा पालेकी छिन् । त्यसले समेत उनलाई घाइते माकुरोलाई कसरी बचाउने र खुवाउने ज्ञान भएको थियो । उनले घाइते माकुरोलाई ‘पेग्गी’ नाम दिएकी छिन् । जसको सामाजिक सञ्जालमा करीब ३ हजार त फलोवर नै छन् । उनले सो फेसबुक पेज मार्फत पेग्गीको स्वास्थ्य सुधार, आहारा लगायत बारेमा अद्यावधिक गराउने गरेकी थिईन् । 

घाइते अवस्थामा भेटेको माकुरोका दुई वटा मात्र खुट्टा बचेको भएपनि अहिले उसको थप ६ वटा खुट्टा पलाईसकेको छ । वाल्सलाई भने पेग्गीको पलाएको ६ वटा खुट्टा अन्य खुट्टा भन्दा सानो भएकोमा चिन्ता छ । उनले माकुरोले पुन: एकपटक काँचुली फेरुन्जेल आफैसँग राख्ने र आफै आहारा खोजेर खान सक्ने भएपछि मात्र उसलाई बाहिर संसारमा छोडिदिने योजना बनाएकी छिन् ।

उनलाई सम्मानित गर्ने संस्था पेटाकी प्रवक्ता इमिली राईसले संस्थाले उनले गरेको काम र उत्साह देखेर उनलाई थप प्रोत्साहन गर्नका लागि सम्मानित गरिएको बताएकी छिन् । उनले भनिन्, ‘उन पेग्गीको रेखदेखका लागि देखाएको दयालु स्वाभाव र जनावर प्रतिको उच्च मायालाई सम्मान गरेका हौं ।’ वाल्सले भने संस्थाले आफूलाई दिएको सम्मान अप्रत्यासित भएपनि मुख्यत घाइते माकुरा पेग्गीको स्वास्थ्य सुधारमा सर्वसाधारणले देखाएको चासोप्रति पनि अत्यन्तै खुशी लागेको बताईन् ।


प्रतिक्रिया