नेपाल र जर्जिया चेम्बरबीच लगानी, व्यापार अभिवृद्धि गर्ने सम्झौता

श्रावण ६, २०७६ | काठमाडौं

नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजबीच दुई देशको व्यापार र आर्थिक अभिवृद्धि गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाले हस्ताक्षर गर्नुभयो ।

दुई देशको व्यापार, आर्थिक एंव लगानीको विकास प्रगाढ एवं सुदृढ कायम गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुई देशका उद्यमी व्यवसायी बीचमा प्रचलित कानून र नियमको ढाँचाभित्र रहि द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यवसायीक अवसरहरुले सम्भावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख छ ।

९ बुँदे समझदारी पत्रमा दुई देशका चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक एंव आपसी सम्बन्ध सुमधुर, व्यापारीक, औद्योगिक विकास, वैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागी हुने उल्लेख छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधि, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताउनुभएको छ । आर्थिक उन्नतीको लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, वैदेशिक लगानी, सामाजिक सुरक्षा ऐन लागू भईसकेको जानकारी दिंदै उहाँले नेपालमा व्यवसाय एंव लगानीको उपयुक्त वातावरण भएको बताउनुभयो । 

उहाँले सन् २०१५ देखि नेपाल चेम्बर एक्स्पो हुँदै आएको उल्लेख गर्दै सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा जर्जियाबाट समेत सहभागीताको लागि अनुरोध गर्नुभयो । 
कार्यक्रममा जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसिय स्भिलीले नेपालमा समेत मुलुकको आवश्यकता अनुसार जर्जिया सरकार नेपाल सरकारसँग समन्वय गरी चेम्बरसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो । दुई मुलुकबीच पर्यटन प्रवर्धन गर्नको लागि जर्जिया सरकारले भिसामा सरलीकरण गरेको उहाँले बताउनुभयो । 

२०१८ मा जर्जियासँगको व्यापारमा नेपालले करीब २३ लाखको व्यापार घाटा सहनु परेको जसमा २९ लाखको आयात तथा ६ लाख ७० हजारको मात्र निर्यात हुन सकेको देखिन्छ । नेपालबाट जर्जियामा हाते कागज, ऊनी गलैंचा, हस्तकला, चिया, कफी, चाँदीका गरगहना आदि निकासी गर्ने प्रचुरतम सञ्भावना रहेको छ । 

सो अवसरमा नेपालका लागि जर्जियाका राजदूत अर्चिल जुयसभिली, जर्जियाका विदेश मन्त्रालयको एशिया प्रशान्त विभागका निर्देशक डेभिड केरेसेलिड्ज, नेपालस्थित जर्जियाका अवैतनिक कन्सल शिव रतन शारडाको उपस्थिति थियो । यस्तै, नेपाल चेम्बरका पदाधिकारीहरु एंव उद्योगी व्यवसायीहरुको उपस्थिति थियो । 


प्रतिक्रिया