नेप्सेमा दोहोरो अंकले गिरावट

श्रावण ९, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से आज १४ दशमलव १५ अंकले घटेर १ हजार २ सय ६९ दशमलव ९२ अंकमा पुगेको छ । नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने हिजोको तुलनामा ११ करोड रुपैयाँले वृद्धि भएको छ । ६ अंकले उकालो लागेको नेप्सेमा हिजो ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

सरकारले लगानीकर्तालाई लगानीको लागि आकर्षित गर्न नस्नुका कारण पनि सेयर बजार घटबट भईरहेको सेयर विश्लेषक अम्बिका पौडेलले बताउनुभयो ।

सरकारको पहिल्लो गतिविधिले पुँजी बजारमा लगानीकर्ता आर्कषित हुन नसक्नु, कर निर्धारण, लगायत कारण पुँजी बजारमा लगानी कर्ताको आर्कषण घट्नुले पनि सेयरमा गिरावट आएको उहाँले बताउनुभयो । राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिका कारण पनि त्रितोपत्र बजारमा गिरावट आएको जानकारहरु बताउँछन् ।

नेप्सेमा आज कारोबार भएको सबै कम्पनी समूहको उपसूचकमा गिरावट आएका कारण पनि समग्र बजार प्रभावित बन्यो । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ८४ दशमलव ३५ अंकले घटेको छ ।

यस्तै, जीवन बीमा कम्पनी समूहको उपसूचक ५३ दशमलव ५४, होटल समूहको ३२ दशमलव ८४ र जलविद्युत कम्पनी समूहको २१ दशमलव ५४ अंकले घटेको छ । नेप्सेमा आज कुल १ सय ७१ कम्पनीका ७ हजार १६ कारोबारबाट २१ लाख ९८ हजार १ सय २६ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ५५ करोड ५ लाख ३२ हजार १ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज प्रभु बैंक लिमिटेडको सबै भन्दा बढी कारोबार भएको छ ।


प्रतिक्रिया