उन्नति र सहकार्य लघुवित्त संस्था मर्ज हुँदै

श्रावण १०, २०७६ | काठमाडौं

उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था आपसमा मर्ज हुने भएका छन् । यी दुई संस्थाबीच एक आपसमा मर्जरमा जानका लागि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा उन्नति लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाह र सहकार्य लघुवित्तको सञ्चालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गवर्नभयो ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नति वित्तीय ंस्थाले विभिन्न १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ भने सर्लाहीमा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ । हाल उन्नतिको चुक्ता पु֧जी ८ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्था १ करोड ४० लाख रुपैयाँ रहेको छ । 

आगामी दिनमा उन्नतिले १ः १ अनुपात र सहकार्यले १ः ३ को अनुपातमा यस अघि पारित गरेको हकप्रद सेयर जारी गर्ने छ । साथै सहकार्यको कल इन एडभान्समा रहेको रकमलाई पुँजीमा गणना गरिने भएको छ । 

दुई संस्थाबीच पुस महिना भित्र एकीकृत कारोबार गर्ने सहमति भएको छ । दुई संस्था मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जर पश्चात दुबै वित्तीय संस्थाको लघुवित्त बैंकिङ्ग प्रणाली, वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्घि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधियुक्त लघुवित्त वित्तीय सेवा सुविधा प्रदान गरिने भएको छ । दुई वित्तीय संस्थाहरु एक आपसमा गाभिई सबल पुँजी भएको उत्कृष्ठ राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्थापित हुने भएको छ ।

दुई वित्तीय संस्थाहरु एक आपसमा गाभिई बन्ने वित्तीय संस्थामा ७ जना संचालक हुनेछन् । जसमा उन्नतिको अध्यक्ष नै मर्जर पश्चात अध्यक्ष रहने छ । साथै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पनि उन्नतिकै सीईओलाई निरन्तरता दिईने भएको छ ।

कम्पनीको सेयर स्वाप रेसियो डीडीएबाट तय गरिने भएको छ । द्वितीय पक्षको प्रमुख कार्यकारी अधिकृतलाई मर्जर पश्चात बन्ने वित्तीय संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत पदमा मर्जर पश्चात बन्ने वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम विगतको खाइपाई आएको तलब भत्ता तथा सुविधा पाउने गरी समायोजन गरिनेछ ।  प्रथम तथा द्वितीय पक्षमा हाल कार्यरत अन्य कर्मचारीहरुको पद मर्जर पश्चात यथावत कायम राखिने छ ।

द्वितीय पक्षमा कार्यरत स्थायी तथा हाल करारमा कार्यरत कर्मचारीलाई मर्जर पश्चात बन्ने वित्तीय संस्थामा समायोजन गर्ने प्रयोजनको लागि समितिले निर्धारण गरे बमोजिमको प्रकृया अपनाई उपसमितिको सिफारिसमा आवश्यक परेमा स्वतन्त्र विज्ञको परामर्श लिई कर्मचारीहरुको योग्यता, अनुभव, दक्षता तथा कार्यविधिको आधारमा हाल कार्यरत सेवा अवधि समेत गणना हुने गरी वैज्ञानिक रुपमा समायोजन गरिनेछ ।

मर्जर पश्चात बन्ने वित्तीय संस्थाको कर्मचारी विनियमावलीमा उल्लेख भए बमोजिम हुनेछ तर निजहरुले हाल खाईपाई आएको तलब भत्ता घटाईने छैन । 


प्रतिक्रिया