ज्योति विकास बैंकले आईएमइ पेसँग सहकार्य गर्ने

श्रावण १५, २०७६ | काठमाडौं

ज्योति विकास बैंक र आइएमई पेबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्ने विषयको सहमति पत्रमा सम्झौता भएको छ । सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा प्रवाहमा थप सहज बनाउन  ज्योति विकास बैंक र आइएमई पेबीच सहमति पत्रमा हस्तारक्षर भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली तथा आइएमई पेका तर्फबाट निर्देशक खिलेन्द्र पौडेलले हस्ताक्षर गर्नुभयो । अब ज्योति विकास बैंकका ग्राहकले मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी आइएमई पेको प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्ने ज्योति विकास बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आइएमई पे मोबाईल एप प्रयोग गरी सो बैंकका ग्राहकले मोबाईलमा रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिजिटल भुक्तानी, बीमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ्, प्लेन टिकेटिङ, होटल रुम बुकिङ, अनलाईन मार्फत सामान खरिद लगायत सेवाहरु प्रापत गर्नेछन् ।

हाल सो बैंकले मुलुकका विभिन्न जिल्लामा ९७ वटा शाखा कार्यालय विस्तार गरी बैंकिङ् सेवा प्रदान गर्दै आएको छ । चालू आर्थिक वर्षमा मुलुकका विभिन्न स्थानमा थप १२ वटा नयाँ शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको ज्योति विकास बैंकले २ वटा एक्सटेन्सन काउन्टर तथा ४० वटा एटीएम बुथबाट सेवा प्रदान गर्दै आएको छ । चालू आर्थिक वर्ष २०७६/७७ भित्र मुलुकका थप २५ स्थानमा एटीएम सेवा विस्तार गर्ने योजना बैंकको रहेको जनाएको छ ।


प्रतिक्रिया