डिजेल लोड गरेर विराटनगर जाँदै गरेको ट्यांकर बीच बाटोबाटै गायव 

मंसिर ३, २०७६ | काठमाडौं

नेपाल आयल निगमको बाराको अमलेखगञ्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाटै गायव भएको छ । २० किलोलिटर डिजल लोड गरेर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर अस्ति आइतबार राति सिराहाको लहानबाट गायव भएको ढुवानीकर्ताले आयल निगमलाई जानकारी गराएका छन् ।

ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर ’अपहरण’मा परेको लिखित जानकारी निगमलाई आज मात्र गराउनुभएको छ । अज्ञात व्यक्तिले चालक र सह–चालकलाई आँखामा पट्टी बाँधेर अपहरण गरेका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई भने महोत्तरीको बर्दिवास र सर्लाहीको लालबन्दीको बीचमा पर्ने जंगलबाट छाडेका थिए ।

अमलेखगञ्जबाट दिउँसो २ बजे हिँडेको ट्यांकर आइतबार राति लाहान पुगेको र विश्राम गर्नका लागि पूर्वपश्चिम राजमार्गको हुलाक अफिस अगाडि पार्किङ गरिएकै स्थानबाट अज्ञात समूहले लगेका हुन् । अपहरणकारी ६ देखि ८ जनाको समूहमा रहेको गुप्ताले बताउनुभयो । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले ढुवानीकर्ताले ट्यांकर गायव भएको कुरा निगमलाई जानकारी गराएको पुष्टि गर्दै घटनाबारे छानबिन गर्नका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

आयल निमगले डिजेल लोड भएको ट्यांकर अपहरणकारीले चलाएर लगेको भन्ने बारेमा सत्यतथ्य छानबिन गर्न कमिटी गठन गरेको छ । निगमका प्रादेशिक प्रमुख इन्जिनियर अशोक साहको संयोजकत्वमा गठित कमिटीलाई ७ दिनको समयसिमा दिइएको निगमले जनाएको छ ।


प्रतिक्रिया