भद्रपुर विमानस्थल आजबाट सञ्चालनमा

मंसिर ६, २०७६ | बिर्तामोड

धावनमार्ग मर्मतको काम सम्पन्न भएपछि झापाको भद्रपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । विमानस्थल स्तरोन्नतिको कार्यअन्तर्गत धावनमार्ग मर्मत गर्नुपर्ने भएपछि भद्रपुर विमानस्थल गत कार्तिक २६ गतेदेखि बन्द रहेको थियो ।

विमानस्थल सञ्चालन भएपछि आजै ८ वटा उडान भरेको भद्रपुर नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिनुभयो । १५ सय मिटर लम्बाई तथा ३५ दशमलव ५ मिटर चौडाईको धावनमार्ग जीर्ण बनेकाले १२ वर्षपछि मर्मत गरेको चुडालले बताउनुभयो ।

धावनमार्ग मर्मत तथा स्तरोन्नतिमा १० करोड २३ लाख रुपैयाँ खर्च भएको छ । सो रकममा विमानस्थल मर्मतको ठेक्का काठमाडौंको गौरी–पार्वती–देव एण्ड सायर जेभीले पाएको थियो । यसअघि गत भदौं २० देखि असोज ११ गतेसम्म पनि विमानस्थलको धावनमार्ग मर्मत गरिएको थियो । त्यसबेला १८ घण्टा विमानस्थल बन्द गरेर मर्मत सम्भारको काम थालिएपनि दसैं अघिको लगातारको वर्षाले निर्माण कार्य प्रभावित बनेको थियो ।

उक्त समयमा निर्माण कार्य सम्पन्न नभएपछि दोस्रो चरणमा काम सम्पन्न गर्नु परेको चुडालले बताउनु भयो । विमानस्थल नियमित सञ्चालन हुँदा छिमेकी मुलुक भारत, भुटान, बंगलादेश सहित पूर्वी नेपालका हवाई यात्रु लाभान्वित बनेका छन् । सो विमानस्थलबाट २ सय विदेशी सहित दैनिक एक हजार बढी यात्रुले हवाई यात्रा गर्दै आएका छन् । विमानस्थलबाट बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्सले दैनिक ९ वटा उडान भर्दै आएका छन् । 


प्रतिक्रिया