झापा डायरी

वैशाख १०, २०७५ | काठमाडौं

आफ्नो घर अगाडिको बाटो निर्माण गर्न दमक नगरपालिकाका स्थानीयले चालु वर्षमा करीब नौं करोड रुपैयाँ संकलन गरेका छन् । उपभोक्ताले नगरपालिकासँग लागत सहभागीतामा ड्रेन सहितको फराकिलो बाटो निर्माण गर्न करोडौं रुपैयाँ संकलन गरेका हुन् । बाटो बनाउन उपभोक्ता आफै जुटेपछि नगरपालिकाले पनि उक्त योजनालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । १० वटा वडा मध्ये नगरका ५ वटा वडामा लागत सहभागीतामा करीब चार दर्जन योजना सञ्चालन भइरहेका छन् ।

ती योजनामा उपभोक्ताले ९ तथा नगरपालिकाले ३० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । सबैभन्दा धेरै वडा नम्बर ५ मा २५ वटा योजना सञ्चालित छन् । उक्त वडामा एउटै सडकका लागि उपभोक्ताले तीन करोडसम्म रकम संकलन गरेका छन् । वडा नम्बर १ मा उपभोक्तासंगको साझेदारीमा नगरपालिकाले सडक निर्माणका पाँच वडा योजना अघि बढाएको छ । वडा नम्बर ४ मा पनि साझेदारीका ५ वटा योजना सञ्चालित छन् । वडा नम्बर ८ मा ३ लाखदेखि १७ लाख ५० हजारसम्मका पाँच वटा वडा सञ्चालनमा सञ्चालनमा रहेको नगरपालिकाका योजना शाखा प्रमुख तीर्थ नारायण श्रेष्ठले जानकारी दिनुभयो । 

विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका सांसद एलपी सावाले १० जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नु भएको छ । सांसद सावाले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत झापा गाउँपालिकास्थित डिल्लीराज माविका ४ तथा उक्त गाउँपालिकाको त्रिभुवन आधारभूत विद्यालयका ६ जना गरी १० जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नु भएको हो ।

उहाँले डिल्लीराजमा सुस्मिता माझी, गौरव माझी, तापश उराउ र प्रदीप माझी तथा त्रिभुवनमा अमन कोच, अनुपम मुखिया, धिरज कोच, राजनारायण कोच, सरिता हास्दा र प्रिक्षा कहारको सबै शैक्षिक खर्च बेहोर्ने जिम्मेवारी लिनु भएको छ । उहाले विपन्न परिवारका उनीहरुको विद्यालय पोशाक, शैक्षिक सामग्री तथा खाजा खर्च समेतको जिम्मेवारी लिनु भएको छ । आर्थिक अभावमा विद्यालय भर्ना हुन नसकेको भन्ने जानकारी पाएपछि जिम्मेवारी लिँदै उनीहरुलाई विद्यालय भर्ना गराइदिएको सांसद सावाले बताउनुभयो ।  

हल्दिबारी गाउँपालिकाले सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी सुरु गरेको छ । गाउँपालिकाको कार्यालय सहित विद्यालय, स्वास्थ्य केन्द्रमा विद्युतीय हाजिरी सुरु गरेको हो । सरकारी कार्यालयबाट दिइने सेवामा नियमितता गर्न विद्युतीय हाजिरी सुरु गरेको गाउँपालिका अध्यक्ष रबीन्द्र लिङ्देनले बताउनुभयो । उहाँले विद्युतीय हाजिरीले विशेष गरी विद्यालयका शिक्षकहरुलाई नियमित गर्ने तथा सरकारी कार्यालयको सेवा थप प्रभावकारी हुनेमा आशावादी रहेको बताउनुभयो । गाउँपालिकाभित्र प्रविधि जडान गर्न ६ लाख २६ हजार रुपैयाँ खर्च भएको उहाले बताउनुभयो । गाउँपालिकाका सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी सुरु गर्ने जिल्लामै हल्दिबारी पहिलो स्थानीय तह बनेको छ । 

कमल गाउँपालिका ७ लखनपुरमा प्रदेशस्तरीय आयुर्वेद चिकित्सालय बन्ने भएको छ । चिकित्सालय निर्माण प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ । चिकित्सालय निर्माणका लागि अहिले टेण्डर प्रक्रिया चलिरहेको छ । प्रत्येक प्रदेशमा आयुर्वेद चिकित्सालय निर्माण गर्ने सरकारी योजनाअनुसार लखनपुरमा सुविधा सम्पन्न चिकित्सालय बन्न लागेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो । प्रदेश १ मा आयुर्वेद चिकित्सा अध्ययन तथा सेवाका लागि प्रमुख थलोका रुपमा विकास गराउने गरी चिकित्सालय निर्माण प्रक्रिया सुरु गरेको उहाको भनाई छ । चिकित्सालयको लागि स्थानीयले २ बिघा एक कट्ठा जमिन नि:शुल्क उपलब्ध गराएका छन् । २४ करोडको लागतमा ७५ मिटर लम्बाई र ४५ मीटर चौडाईको अढाई तले भवन निर्माण गरिने अस्पताल पहलकर्ता मणि भण्डारीले बताउनुभयो । चिकित्सालय ५० शैय्या क्षमताको हुने उहाँले बताउनुभयो । 

विश्व पुस्तक दिवसको अवसर पारेर वीरता जेसीजले बिर्तामोड १० स्थित ज्ञानकुञ्ज सार्वजनिक पुस्तकालयलाई तीन सय बढी पुस्तक हस्तान्तरण गरेको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीले आज एक कार्यक्रमकाबीच पुस्तकालयका अध्यक्ष ओमप्रकाश श्रेष्ठ सहितको समिति पदाधिकारीलाई पुस्तक हस्तान्तरण गर्नु भएको हो । जेसीजले ऐतिहासिक महत्व तथा समसामयिक विषयवस्तुका पुस्तकहरु हस्तान्तरण गरेको अध्यक्ष गिरीले बताउनुभयो । पुस्तकालयमा पठन संस्कृतिको विकास गराउन जेसीजले हस्तान्तरण गरेका पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिरीले बताउनुभयो । कार्यक्रममा उपस्थित सहभागीहरुले आधुनिकतासंगै पुस्तकालयमा पठन संस्कृति हराउँदै जानु चिन्ताको विषय भएको बताए । 

 


प्रतिक्रिया