संखुवासभा डायरी

रेडियो कान्तिपुर संवाददाता

भाद्र १२, २०७५ | संखुवासभा

– संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन बहुचर्चित अरुण–३, जलविद्युत परियोजनाको ड्याम साइडका १४ घर जोखिममा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्न सुरक्षित स्थान खोजी भइरहेको प्रशासनले जनाएको छ । सुरुङ निर्माणका क्रममा बस्ती मूनिका चट्टान फुटाउने क्रममा जमिन हल्लिएको स्थानीयले बताए । चट्टान फोर्न विस्फोटक पदार्थ पड्काउँदा जमिन चिरिएर पहिरो जान थालेको स्थानीय दलबहादुर राईले बताउनु भयो । मकालु–३, का दलबहादुर राई, मेघराज राई, नरेस राई, रुकमान राई र मेघनाथ राईलगायतका १४ घर परिवार जोखिममा परेका हुन् । आयोजनाको ड्यामसाइड निर्माण स्थलमा रहेका नयाँ बस्ती जोखिममा परेको हो । केही बर्ष अघिबाट यहाँ बस्ती बस्न सुरु गरेको थियो । 

सभाखोला र धनकुटाको हिले जोड्ने तुम्लिङ्गटार–हिले सडकखण्डमा यात्रुहरूलाई समस्या भएपछि सडकको स्तरोन्नति सुरु गरिएको छ । तुम्लिङ्गटार हुँदै धनकुटाको हिले निस्कने सडकखण्ड अन्तर्गत सभाखोला देखि सातटारेसम्मको सडक तीन मिटरको मात्रै भएकाले यातायात संचालनमा समस्या हुँदै आएको थियो । सो सडक चौडा पारिने भएको हो । 

सडक चौडा गर्न गएको धबारदेखि दैनिक ९ घण्टा सडकमा यातायात बन्द गरेर काम सुचारु गरिएको निर्माण कम्पनीले जनाएको छ । सडकको चौडा सानो हुँदा यातायात सञ्चालनमा समस्या छ । निर्माण कम्पनीले बिहान ६ बजे देखि ११ बजेसम्म र दिउँसो २ बजे देखि बेलुकी ६ बजेसम्म यातायात बन्द गरेर सडक चौडा पार्ने तुम्लिङ्गटार सडक डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख त्रिलोकनाथ घिमिरेले बताउनु भयो । 

सांस्कृतिक महत्वको रोपाई जात्रा आज सदरमुकाम खाँदबारी र चैनपुरमा विशेष उत्सवका रुपमा मनाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रोपाई जात्रा विशेष उत्सवका रुपमा मनाइन्छ । चैनपुर र खाँदबारीमा आयोजित कार्यक्रममा जात्रालाई एकताको पर्ब पार्न अन्य जातजातीको समेत संस्कृति प्रदर्शन गरिएको थियो ।  

विभिन्न बाजागाजा, सांस्कृतिक झाँकी सहित खाँदबारी र चैनपुरमा रोपाई जात्रा भएको थियो । जात्रामा हास्य व्यङ्य र नेवार समुदायको लाखे नाचको प्रदर्शन गरिएको थियो 

संखुवासभाको मादी नगरपालिकाले सडक निर्माण गर्न एकलौटी ढंगले उपभोक्ता समिति गठन गरेको भन्दै मंगलबार स्थानीयले तालाबन्दी गरेका छन् । सबैलाई समेटेर पटकपटक उपभोक्ता समिति गठनको माग राख्दा नगरले अटेर गरेपछि तालाबन्दी गरिएको स्थानीय रामकुमार जिमीले बताउनुभयो । ओखरबोटे, मुलखर्क हुँदै मंगलबारेसम्मको सडक स्तरोन्नती गर्न गठन गरिएको उपभोक्ता समितिमा प्रत्यक्ष सरोकारवालालाई नराखिएको उहाँले आरोप लगाउनु भयो । एकलौटी ढंगले गठन गरिएको समिति विघटन नगरेसम्म ताला नखोल्ने अडान स्थानीयले गरेका छन् । 


प्रतिक्रिया