सप्तरी डायरी

रेडियो कान्तिपुर संवाददाता

भाद्र २६, २०७६ | काठमाडौं

सप्तरी, सुनसरी र उदयपुरका कोशी पीडितहरुले कोशी ब्यारेज नियन्त्रण कक्ष नजिक सुरु गरेको रिले अनशन आज २७ औं दिनपनि जारी छ । गत साउन ३२ गतेदेखी सप्तरी, सुनसरी र उदयपुरका कोशी पीडितहरु मुआब्जा लगायतका माग राख्दै रिले अनशन सुरु गरेको थियो ।

नेपाल–भारतबीचमा १२ बैशाख २०११ मा भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, कोशी योजनाले अधिग्रहण गरेको जग्गामा मात्र पाइलट च्यानलको काम हुनुपर्ने, सम्झौता अनुसार सो क्षेत्रका नेपाली नागरिकलाई जागिर दिनुपर्ने, कोशीबाट प्रभावित परिवारका लागि विद्यालय र अस्पताल खोल्नुपर्ने तथा नेपाली भू–भागमा कोशी योजनाले कुनै काम कारबाही सुरु गर्नु पूर्व नेपाल सरकारसँग अनुमति लिनुपर्ने लगायतका माग अघि सारिएको छ । सयौं बिघा नम्बरी जग्गाको मुआब्जा ७३ वर्ष नाघी सक्दा पनि पाउन नसक्दा मुआब्जाकै पर्खाइमा तीन पुस्ताले समस्या झेल्नुपरेको कोशी पीडितहरुको भनाई छ ।

विगतका केही वर्षदेखि रेफरल सेन्टरको उपाधि पाएको सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको अवस्था सुध्रिदै गएको छ । विशेशज्ञ चिकित्सकको पूर्ति र विभिन्न सेवा सञ्चालनसँगै अस्पतालको अवस्थामा सुधार भएको हो । पछिल्लो दुई महिनामा गजेन्द्रनारायण सिंह अस्पतालमा मेडिसिन, सर्जरी, पेडियाट्रिक, एनेशथेसिया, नाक कान घाँटी, अर्थो, रेडियोलोजी र टेन्टलको विशेशज्ञ सेवा सुरु भएको हो । यी सेवा सुरु हुनु भन्दा अगाडि सामान्य बिरामीलाई पनि विराटनगर वा धरान रेफर गर्ने गरिएको थियो । अहिले गजेन्द्रनारायण सिंह अस्पतालमा पितथैली, हाइड्रोसिल, हर्निया र एपेन्डिक्सको शल्यक्रिया पनि सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । डा. दासका अनुसार अस्पतालमा चाँडै आइसीयु र सिटी स्क्यान सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । यसका अतिरिक्त डायलासिस सेवा सञ्चालन गर्ने तयारी पनि अन्तिम चरणमा रहेको डा. दासले बताउनुभयो । थाइराइड र मधुमेहको जाँच भने सुरु भईसकेको छ । पछिल्लो समय एडभान्स मेसिनहरुका साथै विशेशज्ञ चिकित्सकहरुको पदपूर्ति भएपछि बिरामीको चाप बढ्नुका साथै रेफर गर्ने क्रम पनि घटेको छ ।  

गम्भीर प्रकृतिका अपराधमा फरार हुनेको सूची बढदै गएको छ । हत्या, अपहरण र बलात्कार जस्ता जघन्य अपराधका आरोपीहरु समयमै प्रहरीले पक्राउ गर्न नसक्दा फरार आरोपीहरुको सूची बढदै गएको हो । गम्भीर प्रकृतिमा मुद्दामा फरारी सूची लामो भएसँगै दण्डहिनताले प्रश्रय पाउनुका साथै द्धन्द समेत निम्त्निे खतरा बढेको नागरिक अगुवाहरुको भनाई छ । आर्थिक वर्ष ०७५/७६ मा सप्तरी जिल्लामा सप्तरी जिल्लामा कर्तब्य ज्यानका १२ वटा मुद्दामा ३७ जना आरोपी रहेकामा प्रहरीले १३ जना आरोपीलाई मात्र नियन्त्रणमा लिएको छ । कर्तब्य ज्यानमा मुद्दामा २४ जना अझै फरारी सूचीमै छन् । सो अवधिमा अपहरणको ९ वटा मुद्दामा १३ जना आरोपी रहेकामा प्रहरीले ६ जनालाई मात्र नियन्त्रणमा लिएको जनाएको छ । ७ जना अझै फरार छन् । जिल्लामा पछिल्लो समय बढदै गएको बलात्कारका घटनाका आरोपीहरुको फरारी सूची पनि लामै छ । ०७५ साउन देखि ०७६ असार सम्ममा सप्तरी जिल्लामा ४९ वटा बलात्कारमा मुद्दा दर्ता भए । जसमध्ये ५६ जना आरोपी रहेकामा प्रहरीले ३१ जनालाई पक्राउ गरेको छ भने, २५ जना फरार नै छन् । यसैगरी, जबरजस्तीकरणी उद्योगका १५ वटा मुद्दामा १९ जना आरोपी रहेकोमा ९ जना मात्र पक्राउ परेका छन् भने, १० जना फरार छन् । ज्यान मार्ने उद्योगका २९ वटा मुद्दामा ७९ जना आरोपी रहेकामा १६ जनालाई मात्र प्रहरीले पक्राउ गर्न सकेको छ भने, ६३ जना फरार नै छन् । 

लामो समयदेखि वर्षा नहुँदा जिल्लामा खडेरीको संकेत देखिएको छ । असारको अन्तिम साता एक हप्ता सम्मको निरन्तरको वर्षापछि आएको बाढीका बीच जसोतसो धान रोपाइँ गरेका सप्तरी र सिरहाका कृषकहरु खडेरीको संकेतसँगै चिन्तत भएका छन् । कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख भागिरथ यादवले वर्षा नहुँदा धान खेतीका लागि विकट स्थिति उत्पन्न भएको बताउनुभयो । अझै दुईचार दिन पानी नपरे जिल्लामा धान खेतीमा पूर्ण रुपमा प्रतिकूल प्रभाव पर्ने उहाँले बताउनुभयो । सप्तरी जिल्लामा कुल ७० हजार हेक्टर क्षेत्रफल धान खेतीका योग्य रहेको छ । जस मध्ये यसवर्ष ६६ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । ती मध्ये असारको अन्तिम साताको बाढीका कारण ३ हजार २ सय हेक्टर जग्गामा लगाईएको धानबाली नष्ट भएको थियो । केही वर्ष अघि सम्म जिल्लामा ८२ हजार हेक्टर क्षेत्रफलमा जग्गामा धान खेती हुँदै आएको थियो । पछिल्ला वर्षहरुमा खेती योग्य जग्गामा वस्ती विस्तार तथा बाढी, कटान र सिंचाई नभएका कारण अहिले ७० हजार हेक्टर जग्गा मात्र धान खेती योग्य छ । ती मध्ये ६० प्रतिशत भन्दा बढी जग्गामा आकासे पानीकै भरमा खेती हुँदै आएको छ । केही जग्गामा विभिन्न नहरको पानी त केहीमा बिजुलीको मोटर वा बोरिङबाट सिंचाई गरी खेती गरिंदै आएको छ । धान खेतीयोग्य जग्गा घटदै जानु तथा सिंचाई नहुनु, बाढीको चपेटमा पर्नु लगायका कारणले वर्षेनी उत्पादन ह्रास हुँदै अहिले जिल्ला परनिर्भर हुने स्थिति सृजना भएको छ । 


प्रतिक्रिया